भारतमा देशव्यापी लकडाउन गर्न दबाब, प्रधानमन्त्री मोदीले आलोचना दबाउन मात्रै समय खर्चेको आरोप

 बैशाख २७, २०७८ सोमबार ९:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सेनाका अवकाशप्राप्त डाक्टर पनि उपचारमा खटिने भएका छन् । त्यहाँको रक्षा मन्त्रालयले स्वास्थ्य प्रणाली कमजाेर बन्दै गएकाले सेनाका अवकाशप्राप्त चार सय जना डाक्टरलाई सेवामा खटाउने तयारी भएको जनाएको हो ।

उनीहरुलाई ११ महिनाका लागि नियुक्त गरी उपचारमा खटाउने तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोनाको संक्रमण नियन्त्रण भन्दा बाहिर छ । गएको २४ घण्टामा तीन लाख ६६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् भने तीन हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।

कोरोनाको संक्रमण बढेसँगै प्रभानमन्त्ती मोदीलाई देशव्यापी लकडाउन गर्न दबाब परेको छ । भारतीय चिकित्सा संघले निश्चित ठाउँको लकडाउन भन्दा देशव्यापी लकडाउनको माग गरेको छ । संघले दोस्रो लहरमा फैलिरहेको कारोना भाइरसको संक्रमण नियन्त्रणका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले पर्याप्त काम गर्न नसकेको भन्दै टिप्पणी पनि गरेको छ । उसले उपयुक्त निर्णय र ढिलाइका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर गएको आरोप लगाएको छ ।

द इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएशनले कोरोनाका कारण भारतमा अगस्टसम्ममा दश लाख जनाको ज्यान जान सक्ने अनुमान गरेको छ । भारतका धेरै अस्पतालमा अहिले शय्या र अक्सिजनको अभाव छ । यसले बिरामीको ज्यान जाने जोखिम थप बढेको छ । विशेषज्ञले भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अहिले आएको तथ्याङ्क भन्दा धेरै रहेको बताएका छन् ।

यस्तै, मेडिकल जर्नल द लसेन्टले भारतमा कोरोना फैलिरहेको बारे भारतीय प्रधानमन्त्री मोदीको तिखो आलोचना गरेको छ । कोरोना रोकथाम र बिरामीको उपचारका लागि भन्दा पनि मोदीले आफ्नो आलोचना दबाउनेमा समय खर्च गरेको उसको टिप्पणी छ । यस्तै, लसेन्टले मोदीको ध्यान सााजिक सञ्जाल ट्विटरमा मात्रै रहेको पनि उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया