नेपालको स्वास्थ्य प्रणाली धान्नै नसक्ने अवस्थामा पुग्याे, नीति नै परिवर्तन गर्नुपर्छ : डा. चन्द्रमणि अधिकारी

 बैशाख २८, २०७८ मंगलबार १९:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली धान्नै नसक्ने अवस्थामा पुगेकाे भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिनुभएको छ । काठमाण्डौ महानगरपालिकाले मङ्गलवार काठमाण्डाैभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डाक्टर अधिकारीले स्वास्थ्य प्रणाली धान्नै नसक्ने अवस्थमा पुगेकाे बताउनुभएको हो । 

सरकारले कोभिड १९ उपचारका लागि तोकेका अस्पतालले सङ्क्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड सङ्ख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड सङ्क्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको उहाँले बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो हेल्थ सिस्टम धान्नै नसक्ने अवस्था भइसकेको छ । यसको उदाहरण मेरो अस्पतालको दिन्छु । हामीलाई नेपाल सरकारले तिमी मुटुको बिरामी हेरिदेऊ र मुटुका बिरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेऊ भनेकाे छ र म अहिले पनि लिन सक्छु । तर अर्को हस्पिटलले कोभिड मात्रै भएका बिरामीलाई जिम्मा लिइदिओस् ? तर कसैले पनि जिम्मा लिन सक्दैन अहिले । किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ । हामीले जति बेड बनाउनुपर्ने हाे त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौँ । स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ भनेर भन्नुपर्थ्याे । बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन । म दुःखका साथ भन्छु, वीर अस्पतालको पाँच सय शय्या छ तर सञ्चालन गर्न नसक्नु लाजमर्नुको अवस्था हो । हामी के हेरेर बसिरहेका छौँ ? हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन् । पाँच सय शय्याकाे वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने । यसको जिम्मा कसले लिने ? यो मिटिङ एक वर्ष अगाडि सुरु गर्नुपर्थ्याे ।’ 

उहाँले उपचारका लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उहाँले ७० वर्षमाथिकालाई भेन्टिलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले वीर अस्पताल एक वर्षसम्म किन सञ्चालन गर्न सकिएन भनि प्रश्न गर्नुभयो ।

डा. अधिकारीले भन्नुभयो, ‘पाँच सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौँ । किन चलाउन सकिरहेका छैनौँ ? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौँ ? कसैले एन्सर गर्न सक्छ यो ? खै प्लानिङ ?’

सबै अस्पतालमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बिरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अस्पताल कोभिड अस्पताल थिएन । अब हाम्रो अस्पताल कोभिड अस्पताल भइसक्यो । अहिले थप गरेर २१ वटा आईसीयू बनाएका छौँ । अब हाम्रोमा कुनै पनि आईसीयू छैन । इमर्जेन्सीलाई पनि पूरै कोभिड बनाएका छौँ । हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमर्जेन्सी बनाउनुपरेको छ । अहिले मलाई एउटा फोन आइरहेको थियो– एक जना मुटुसम्बन्धी रोग लागेको बिरामीलाई लिइदिनुहोस् भनेर । हामीले लिन सक्ने अवस्था छैन । ९० वटा सिलिन्डर प्रतिदिन प्रयोग गर्ने गरेकोमा अहिले हामीले एक सय ८५ सिलिन्डर प्रतिदिन प्रयोग गरिरहेका छौँ ।’  

उहाँले सरकारले पनि कोभिड १९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसके पनि ढिलै भए पनि महानगरपालिकाले पहल गरेकोमा धन्यवाद दिनुभयो ।

वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजनको अभावका कारण अपेक्षित ढङ्गले काम गर्न नसकेको बताउनुभयो । उहाँले पाँच सय शय्याकाे अस्पताल भवन हस्तान्तरण नभइसकेकाले भवन सञ्चालन भएन भनेर भन्न नमिल्ने तर्क गर्नुभयो । भवन निर्माण भएर हस्तान्तरण भइसकेको अवस्था नरहे पनि आफूहरूले तीन सय बेडको व्यवस्था गरिसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भवन निर्माण भएर हस्तान्तरण भइसकेको अवस्था होइन । तर हामीले तीन सय बेडको व्यवस्था गरिसकेका छौँ । अक्सिजन प्लान्टबाट दैनिक एक सय सय ५० सिलिन्डर उत्पादन हुन्छ । दुई वटा भवनमा गरेर तीन सय सिलिन्डर प्रतिदिन खपत भइरहेको तर सप्लायर्सले एक सय २३ सिलिन्डर भन्दा बढी दिँदैन अनि मैले कसरी गर्न सक्छु ?’ 

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोभिड अस्पताललाई बिरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत, साधनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चर्चा कमाउन नभइ अस्पतालमा परेको बिरामीको चाप घटाउन आइसोलेशनको भूमिका हुनुपर्ने बताउनुभयो । अन्य थप संयन्त्र बनाएर भन्दा अस्पतालहरूको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने मेयरकाे भनाइ थियो ।  

छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी, निजामती कर्मचारी अस्पतालका निर्देशकहरू डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक सहभागी हुनुहुन्थ्यो ।

सहभागीहरूले अक्सिजन व्यवस्थापनमा देखिएको कठिनाइ, जनशक्तिलाई प्रोत्साहन र व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्त उपलब्धताको साथै आपत्कालीन सेवाका लागि सामान खरिद गर्न प्रक्रिया लामो भएकाले सहजीकरण गर्न आग्रह गरेका थिए ।

उनीहरूले भेन्टिलेटर, आईसीयू, एचडीयूकाे सङ्ख्या बढाउँदै लगेको भए पनि अहिले ती सबै बिरामीले भरिएको भन्दै बेडको सङ्ख्या वृद्धिसँगै जनशक्तिको भार पनि थपिने भएकाले आर्थिक  व्यवस्थापन गर्न सके महामारीविरुद्ध काम गर्न सहज हुने बताए ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया