होम आइसोलेशनमा बसेका सङ्क्रमित बढी ‘हवाई लिफ्ट’, अक्सिजन 'लेभल' जाँच गरिरहाैँ

 वैशाख ३०, २०७८ बिहीबार १६:५३:४० | रासस
unn.prixa.net

बीएण्डसी अस्पताल

काठमाण्डाै – कोभिड सङ्क्रमित भएर होम आइसोलेशनमा बस्नुभएको छ ? छ भने स्वास्थ्य अवस्थामा गम्भीर ध्यान दिनुहोला । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनकाे अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा रही आवश्यक परामर्श लिन नभुल्नु होला ।  

अहिले ‘हवाई बेड लिफ्ट’ भइ थप उपचारका लागि झापा बिर्तामोडमा रहेकाे बिएण्डसी अस्पतालमा पुर्‍याइएका धेरैजसाे बिरामी होम आइसोलेशनमा नै बसेका छन् । काठमाण्डाैलगायत प्रमुख सहरका सरकारी तथा निजी अस्पतालमा भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसीययू) तथा अक्सिजनको चरम अभाव भएपछि जटिल सङ्क्रमित धमाधम बीएण्डसीमा ‘हवाई लिफ्ट’ भइराखेका हुन् ।

दश दिन होम आइसोलेशनमा रहेका काठमाण्डाै सातदोबाटोकी ५७ वर्षीया महिला बिहीवार (आज) बिहान ‘हवाई लिफ्ट’ गरी बीएण्डसीमा भर्ना हुनुभएको अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीले निकाल्नुभएकाे विज्ञप्तिमा अहिलेसम्म अस्पतालमा  ‘हवाई लिफ्ट’ भएका अधिकांश बिरामी अन्यत्र भेन्टिलेटरसहित आईसीयू तथा अक्सिजन नपाएका तथा होम आइसोलेशनमा बस्दा जटिल हुन थालेपछि थप उपचारका लागि आएका उल्लेख छ । 

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘बिरामीका आफन्तले रुँदै भेन्टिलेटर र अक्सिजन छ भनेर सोध्नुहुन्छ । छ भन्ने जवाफ दिएपछि छिटो भन्दा छिटो बिरामी ल्याउँछौँ शय्या राखिदिनुस् भन्नुहुन्छ । महामारीमा बिरामीको ज्यान बचाउन अस्पतालको स्रोत, साधनले भ्याएसम्म अहोरात्र खटिरहेका छौँ । अस्पतालमा अहिलेसम्म भेन्टिलेटरसहित आईसीयू तथा अक्सिजनको अभाव छैन ।’ 

बुधवार मात्र  होम आइसोलेशनमा नै रहनुभएका नेपालगञ्जका ६१ वर्षीय र ओखलढुङ्गाका ५५ वर्षीय पुरुषलाई ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूलाई पनि होम आइसोलेशनमा रहँदा श्वासप्रश्वासमा जटिल हुँदै गएपछि बिएण्डसी अस्पताल लगिएको बताइएको छ । अस्पतालले कोभिडका बिरामीलाई उपचार गर्न अहिले दुई सय शय्या सञ्चालनमा ल्याएको छ । आवश्यकता परेमा शय्या थपिने र छिट्टै अक्सिजन प्लान्ट सञ्चालनमा आउने जनाइएको छ ।

मौज्दात रहेका ६५ भेन्टिलेटरसहित आईसीयू मध्ये गम्भीर सङ्क्रमितका लागि ५० शय्या छुट्याइएको र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ शय्या मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कुल नाै सय शय्या छ । 

विशेषगरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थाेका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कोभिडका बिरामीको चाप अस्पतालमा बढेसँगै शय्या थप गरिएको छ । भेन्टिलेटर थप गर्दैछाैँ । दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।’ 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया