वैदेशिक रोजगारीबारे जानकारी दिन नगरपालिकाले राख्यो होर्डिङ बोर्ड

 भदौ ८, २०७५ शुक्रबार १३:१७:५१
unn.prixa.net

खोटाङ – जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले वैदेशिक रोजगारी सम्बन्धी जानकारी नागरिकको पहुँच पुर्‍याउन अभियान थालेको छ । 

सूचनाका लागि नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटार, वडा नम्बर ४ बडहरे  र वडा नम्बर ९ सल्लेमा होर्डिङ बोर्ड राखेको छ । विदेश जानेहरुले ख्याल गर्नुपर्ने कुरा लेखिएका होर्डिङ बोर्ड धेरै व्यक्ति आउजाउ गर्ने ठाउँमा राखिएको छ ।

बोर्डमा सीप नसिकी जाँदाभन्दा सिकेर जाँदा विदेशको बसाई उपलब्धिपूर्ण हुने, निःशुल्क सिक्न पाइने सीप बारेको जानकारी, विदेश जानेले एजेण्ट र म्यानपावरलाई पैसा दिँदा ख्याल गर्नुपर्ने कुरा, कागजातका फोटोकपी सुरक्षित राख्नुपर्ने लगायतका जानकारी उल्लेख गरिएको छ । 

विदेश जानुअघि सूचना र जानकारी दिने संघसंस्थाका जानकारी पनि बोर्डमा लेखिएको छ । बोर्ड राख्दै वडा नम्बर ९ सल्लेका अध्यक्ष काशिराज राईले वडालाई सुरक्षित वैदेशिक रोजगार युक्त वडा बनाउन पनि पहल भइरहेको बताउनुभयो । 

बडहरेका वडाध्यक्ष किशोर बस्नेतले आफ्नो वडालाई सुरक्षित वैदेशक रोजगारयुक्त बनाउन विदेश जानेलाई सीप सिकेर, कागजपत्रहरुको फोटोकपी छाडेर मात्रै जान सिकाउने र विदेशमा रहेकाहरुबाट पनि कागजपत्रको फोटोकपी मगाइरहेको बताउनुभयो ।

यस्तै च्यास्मिटारका वडाध्यक्ष भलराज राईले आफूले विदेश जानेहरुलाई सूचना केन्द्रमा पुगेर सूचना लिएर मात्रै विदेश जान जानकारी दिइरहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया