१० महिनामा जम्मा ३५ प्रतिशत मात्रै विकास खर्च

 जेठ १, २०७८ शनिबार १६:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना महामारीको बीचमा पनि विकास निर्माण तीव्र भइरहेको दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै कम देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जस्तो विकास इतिहासमा नभएको जिकिर गर्दै आउनुभएको छ तर चालू आर्थिक वर्षको १० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार बैशाख मसान्तसम्म जम्मा १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ अर्थात ३५ दशमलव ६४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

यो आर्थिक वर्षको लागि तीन खर्ब ५२ अर्ब रुपैयाँ विकास बजेट छुट्याएको सरकारले अर्धवार्षिक समिक्षामार्फत दुई खर्ब ८३ अर्बमा झारेको थियो । १० महिनामा जम्मा ३५ प्रतिशत मात्रै विकास खर्च हुनुले नेपालको पूर्वाधार निर्माण सुस्त रहेको प्रमाणित गरेको अर्थविद्हरुको टिप्पणी छ ।

यस्तै चालू तर्फ ६ खर्ब ३० अर्ब रुपैयाँ अर्थात ६६ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यो आर्थिक वर्षको लागि सरकारले नौ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समिक्षामार्फत नौ खर्ब १४ अर्बमा झारेको थियो । यस्तै वित्तीय व्यवस्थातर्फ ६८ अर्ब ७२ करोड रुपैयाँ अर्थात ३९ दशमलव ७७ प्रतिशत खर्च भएको छ ।

समग्रमा १० महिनामा ५५ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको छ । यस्तै यो वर्ष १० खर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा १० महिनामा सात खर्ब ६१ अर्ब रुपैयाँ अर्थात ७५ दशमलव २२ प्रतिशत संकलन भएको छ ।

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया