‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपालका ५० जिल्लामा कोरोना भाइरसकाे सङ्क्रमण व्यापक रूपमा फैलिएको पाइएको छ । प्रति एक लाख मानिसमध्ये १० जनामा सङ्क्रमण भएमा त्यहाँ व्यापक रूपमा फैलिएको बुझिने र अहिले देशका ५० जिल्लामा प्रति एक लाखमा १० जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको महामारी विज्ञ डाक्टर अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा डा. श्रेष्ठले देशभरको तथ्याङ्कअनुसार प्रति एक लाखमा २७ दशमलव आठ जनालाई सङ्क्रमण पुष्टि भएको बताउनुभयो । पछिल्लो हप्ता सङ्क्रमण दर पाँच दशमलव सात प्रतिशतले घटेको छ । तर काठमाण्डौ उपत्यका तथा सहरी क्षेत्रमा सङ्क्रमण दर घटेर गाउँ–गाउँमा बढेको पाइएकाले महामारी झनै कठिनतर्फ गएको उहाँले बताउनुभयो ।
डा. श्रेष्ठले सहरबाट गाउँमा पुगेकाहरूलाई स्वास्थ्यको मापदण्ड पालना गर्न–गराउन आग्रह गर्नुभयो ।
पछिल्लो हप्ता वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सङ्क्रमण दर घटेको छ भने अरू प्रदेशमा बढेको छ । प्रदेश २ मा भने पछिल्लो हप्ता सङ्क्रमण दर झन्डै एक सय पाँच प्रतिशतले बढेको छ । यो हप्ता प्रति १० लाख मानिसमध्ये एक सय ३१ दशमलव सात प्रतिशत मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै कुल परीक्षणको सङ्क्रमण दर ४६ दशमलव सात प्रतिशत रहेको छ ।
यस्तै गएको वर्षको तुलनामा यो वर्ष सङ्क्रमितको उमेरगत दर उस्तै रहेको पनि महामारी विज्ञ डा. श्रेष्ठले बताउनुभयो । धेरैले भारतीय भेरियन्ट कम उमेरमा बढी देखिएको बताए पनि औसतमा अघिल्लो वर्षको जस्तै भएको तर ज्यान गुमाउने दर भने कम उमेरतर्फ बढी भएको उहाँले बताउनुभयो ।
अहिले नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक दशमलव तीन प्रतिशतको ज्यान गएको छ । नयाँ भेरियन्ट सङ्क्रमण भएर सामान्य लक्षण देखिएकै अवस्थामा एक्कासी गम्भीर अवस्था आउन सक्ने भएकाले सामान्य लक्षणमै परीक्षण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।