नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
ललितपुर – पाटन दरबार क्षेत्रमा रहेको कलात्मक कृष्ण मन्दिरको जीर्णोद्धार पूरा भएसँगै दर्शनार्थीको लागि खुला भएको छ ।
सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको मन्दिर गोरखा भूकम्पले आंशिक क्षति पुगेकाले मर्मतसम्भार गरिएको हो । मन्दिरको जीर्णोद्धार काठमाडौँ उपत्यका संरक्षण कोषले गरेको हो । जीर्णोद्धार सम्पन्न गरी क्षमापूजा भएको छ ।
मर्मत गरिएको मन्दिर क्षेत्रको अवलोकन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले सम्पदा शहरका रूपमा परिचित पाटन राजश्व सङ्कलनमा पनि अगाडि रहेको बताउनुभयो ।
पाटन सङ्ग्रहालय, कृष्ण मन्दिर, चार नारायण मन्दिर, विश्वनाथ र देगु तलेजुले पर्यटकलाई आकर्षण गर्ने उहाँको भनाइ थियो । बाँकी सम्पदाको पुनः निर्माण पनि छिटो सक्न सरकार लागिपर्ने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले देगु तलेजुलगायत मन्दिरको छानामा उम्रिएको घाँस उखेल्न पुरातत्व विभागलाई अनुरोध गर्नुभयो । स्थानीयवासी ८३ वर्षीय वृद्ध रामप्रसाद अमात्यले मर्मतसम्भारपछि मन्दिरमा पानी चुहिने समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । राजपूत अर्थात् मुगल शैलीमा निर्माण भएको मन्दिर ५७ लाखमा जीर्णोद्धार सम्पन्न भएको कोषका निर्देशक रोहित रञ्जितकारले बताउनुभयो । जीर्णोद्धार सम्पन्न भएपछि आजैदेखि दर्शनार्थीका लागि खुला गरिएको छ ।
महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पुजारी विष्णुधर राजोपाध्यायले सुनाउनुभयो ।
मन्दिरको मर्मतसम्भारका लागि जर्मनीको गेर्दा हेङ्कल फाउण्डेशन र जापानी राजदूतावासले सहयोग गरेको कोषका निर्देशक अमात्यले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।