बर्दियामा अक्सिजन बैंक अभियान, अभाव हट्न थाल्यो

 जेठ ११, २०७८ मंगलबार १५:५९:४१ | भावुक योगी
unn.prixa.net

बर्दिया – ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नारासहित बर्दिया अक्सिजन बैंकको अभियान सुरु गरिएपछि बर्दियामा अहिले अक्सिजन अभाव भएको छैन । दोस्रो चरणको कोरोना महामारी फैलिन थालेपछि र निषेधाज्ञा लागू भएको एक हप्तासम्म बर्दियाका आठ वटै पालिकाबाट प्रमुख जिल्ला अधिकारीको अनुमतिमा पालो कुरेर बाँकेको नेपालगञ्जबाट अक्सिजन सिलिण्डर ल्याउनुपर्थ्यो । अहिले भने बर्दिया अक्सिजन बैंक स्थापना भएपछि त्यो समस्या हटेको छ । 

बर्दियामा अक्सिजन बैंकको स्थापना गरेको झन्डै एक महिनामा बर्दियाका समाजसेवी युवाले एक सय सत थान सिलिन्डर जोहो गरेका छन् । बर्दियाको सदरमुकाम गुलरिया नगपालिकाका युवा व्यवसायी, सामाजिक कार्यकर्ताले बैंक स्थापना गरेपछि बिरामीलाई निःशुल्क सिलिन्डर उपलब्ध हुन थालेको छ ।

कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फैलिएसँगै अक्सिजन अभाव भइरहेका बेला बर्दियाका उद्योगी, व्यवसायी, समाजसेवीको सक्रियता तथा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको समन्वयमा अक्सिजन बैंकको सुरुवात गरिएको हो । 

बर्दिया अक्सिजन बैंक सञ्चालनका लागि देश र विदेशबाट अहिलेसम्म झन्डै २५ लाख रुपैयाँ जम्मा भइसकेको छ । अहिले सङ्कलित रकमबाट अक्सिजन सिलिन्डर खरिद गर्न थालिएको छ ।

कोरोना सङ्क्रमित बिरामीलाई अक्सिजन कमी नहोस् भन्दै दुई वटा सवारी साधनबाट दिनहुँ नेपालगञ्ज आउजाउ गर्दै अक्सिजन भरेर ल्याउने गरिएको अक्सिजन बैंक सञ्चालन समन्वय समितिका संयोजक एवम्

निर्माण व्यवसायी सङ्घका अध्यक्ष भेषराज पौडेलले बताउनुभयो । अक्सिजन आपूर्ति गर्न सहजीकरण गर्ने उद्देश्यका साथ सबै पालिकाको स्वास्थ्य कार्यालयमा निर्धारण गरेको स्वास्थ्य मापदण्डअनुसार तत्काल आपूर्ति गर्ने उद्देश्यका साथ वितरण गरिरहेको उहाँको भनाइ छ । बर्दिया अक्सिजन बैंकमा अक्सिजनको अभाव हुन नदिन कर्मचारी, प्रहरी, पर्यटन व्यवसायीलगायतले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।

अक्सिजन नपाएर कोभिड १९ सङ्क्रमितले ज्यान गुमाउन नपरोस् भनी बर्दियाका व्यवसायी, उद्योगी, समाजसेवी युवा मिलेर ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नारासहित अक्सिजन बैँकको अभियान सुरु गरिएको बर्दिया अक्सिजन बैंकका सदस्य सुधांशु शर्माले बताउनुभयो ।

जिल्ला विपत् व्यवस्थापन समिति, निर्माण व्यवसायी, उद्योगी र सङ्घ–संस्था लगायत समाजसेवीबाट उपलब्ध गराइएको सिलिन्डर जिल्ला प्रशासन कार्यालयको हाताभित्र भण्डारण गरिएको छ । आवश्यक परेको अक्सिजन सिलिन्डर निःशुल्क उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । बर्दियाका ६ नगरपालिका र दुई गाउँपालिकामा निर्माण गरिएका अस्थायी कोभिड अस्पतालमा आवश्यक पर्ने अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइरहेको बर्दिया अक्सिजन बैंक सञ्चालन समन्वय समितिका संयोजक एवम् निर्माण व्यवसायी सङ्घका अध्यक्ष भेषराज पौडेलले बताउनुभयो । 

बाँकेको नेपालगञ्ज र बर्दियाको सदरमुकाम गुलरिया भन्दा धेरै टाढा रहेका गेरुवा गाउँपालिका, राजापुर र ठाकुरबाबा नगरपालिकालाई अक्सिजन बैंकले झनै सहज बनाएको छ । ‘अक्सिजन आवश्यकता हुनेबित्तिकै पहिले नेपालगञ्ज जानुपर्ने हुन्थ्यो, अहिले त्यो समस्या हटेको छ’, ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले भन्नुभयो । 

सरकारी सहयोग नलिने गरी सुरु गरिएको यस अभियानका लागि अहिले सहयोगी हातहरु बढ्न थालेका छन् । 

बर्दिया अक्सिजन बैंक सञ्चालनका लागि निर्माण व्यवसायी सङ्घ बर्दियाको संयोजकत्वमा उद्योग वाणिज्य सङ्घ, बर्दिया कृष्णसार यातायात व्यवसायी प्राली, नेपाल पत्रकार महासङ्घ, रक्षा ट्रस्ट, थारु महिला उत्थान सङ्घ र जिल्ला विपद् व्यवस्थापन समितिको फोकल पर्सन सदस्य रहने गरी समिति गठन गरिएको छ । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ नारा दिइएको अक्सिजन बैंकको अभियानमा जोसुकैले पनि अक्सिजन भरेर आफ्ना वा कसैको लागि रकम जम्मा गर्न सक्छन् ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया