पहिरो छेक्न रातभर जागा

 भदौ ९, २०७५ शनिबार १४:५५:३ | किरण लोहनी
unn.prixa.net

गोरखा – पहिरोबाट हुन सक्ने सम्भावित क्षति रोक्नका लागि गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुको स्याम्चेतका युवाहरु रातभर जागा बस्न थालेका छन् । 

गाउँमाथिको बुल्जुङडाँडाबाट लेदो माटोसहित झरेको पहिरो कस्तीतिर नपसोस् भन्नका लागि युवाहरु रातभर भल तर्काउने काममा लाग्ने गरेका हुन् । 

पोहोर साल गएको पहिरोका कारण बस्ती जोखिममा परेको थियो । ‘त्यही ठाउँमा यो वर्ष झन् ठूलो पहिरो गयो’ वडाध्यक्ष शेरबहादुर घलेले भन्नुभयो, ‘लेदो माटो र ढुंगासहितको भलबाढी लगातार खसिरहेको छ, केटाहरु रातभरि नसुतेर भल तर्काइरहन्छन् ।’ 

गएको जेठ २८ गते झण्डै ५ सय मिटर फराकिलो पहिरो गएपछि त्यहाँका १ सय ३६ घरधुरी विस्थापित भएका थिए । गाउँको अलि सुरक्षित भागमा घर भएकाहरु दिउँसो घरमै बसे पनि राति भने सबैजना नजिकैको विद्यालयमा बस्ने गरेका छन् । ४५ घरका बासिन्दा भने पूर्ण रुपमा विस्थापित भएका छन् । 

पहिरोसँगै झर्ने लेदो माटो बस्तीतर्फ आउने गरेको छ । पहिरो बस्तीतर्फ आउन नदिन उनीहरुले दिनभर कुलो बनाएर तर्काउने गरेका छन् । तर ५०-६० जनाले बनाएको कुलोमा एकैछिनमा माटो भरिएर पहिरो बस्तीतर्फ सोझिने डर भएको आरुघाट गाउँपालिका १ का वडाध्यक्ष घलेले बताउनुभयो ।

रातको समयमा सुत्केरी, केटाकेटी र वृद्धवृद्धा नजिकैको विद्यालयमा गएर बस्ने गरे पनि युवाहरु भने रातभर कुलो कटाउने, पर्खाल लगाउने काममा व्यस्त हुने गरेको उहाँले बताउनुभयो ।

‘दिनभर कुलो बनाएर भल तर्काउँछन्, राति के हुने हो भन्ने डर हुन्छ’ घलेले भन्नुभयो, ‘बाक्लो कुहिरो लागेका बेला त दिउँसै पनि पहिरो झरेको देखिन्नँ ।’ पहिरो जुनसुकै बेला बस्तीतर्फ आउने डर भएपछि चौबिसै घण्टा निगरानी गर्नु परेको स्थानीय बासिन्दाको भनाई छ ।  
पहिरो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रसले तारजाली उपलब्ध गराएको थियो । तर स्थानीयले तारजाली भरेर पर्खाल लगाएको ठाउँ पनि पहिरोले बगाएको छ । 
भलबाढी गाउँमा पसेमा जुनसुकै बेला ठूलो मानवीय क्षति हुन सक्ने सम्भावना देखिएको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताउनुभयो । 

पहिरो नियन्त्रणका लागि सहयोग गर्न गाउँपालिकाले प्रदेश र संघीय सरकारलाई पनि गुहारेको छ । तर तत्काल राहतका काम बाहेक कुनै पनि निकायबाट पहिरो नियन्त्रणको ठोस पहल नभएको दाहालको भनाई छ । 

गाउँपालिकाले इन्जिनियरहरु मार्फत गरेको अध्ययन अनुसार पहिरो नियन्त्रणको काम गर्न करिब ५४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

प्राविधिकको सल्लाह अनुसार भलपानी र पहिरो बस्तीतर्फ आउन नदिनका लागि ५ सय मिटर जति ठूलो नहर बनाउनु पर्नेछ । त्यसो भएमा भलबाढीलाई तर्काएर नजिकैको खोलामा पठाउन सकिने सो क्षेत्रको स्थलगत अध्ययन गर्नुभएका इन्जिनियर राजु अधिकारीले बताउनुभयो । 

यस्तै, अहिले पहिरो खसिरहेको ठाउँमा तारजाली भर्नु पर्ने र वृक्षारोपण गर्नु पर्ने उहाँको सल्लाह छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया