महिनावारी खर्च जोगाउन कपडाको प्याड बनाउने तालिम उपयुक्त

 जेठ १७, २०७८ सोमबार ९:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरसफाइ अभियन्ताहरुले महिलाहरुलाई कपडाको प्याड बनाउने तालिम दिएर महिनावारीमा हुने खर्च जोगाउन सकिने बताएका छन् । गुथि, नेपाल महिला समाज लगायतका संस्थाहरुको आयोजनामा भएको कपडाको प्याड तयारीसम्बन्धी तालिममा अभियन्ताहरुले महिनावारीका बेला भएको खर्च बचत तथा प्याडमा पहुँच पुर्याउन कपडाको प्याड बनाउने तालिम प्रभावकारी हुने बताएका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सह-सचिव एवम् खानेपानी तथा सरसफाइ विज्ञ राजन पाण्डेले सरकारले सबैलाई स्यानिटरी प्याड नि:शुल्क उपलब्ध गराउन सम्भव नहुने र सबै महिलाले बजारका प्याड किन्न नसक्ने भएकाले कपडाको प्याड बनाउने तालिमलाई देशव्यापी बनाउनुपर्ने बताउनुभयो । यस्तै कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले कीर्तिपुर नगरपालिकामा रहेका विद्यालयहरुमा निःशुल्क प्याड वितरण गर्दै आएको भन्दै महिनावारीका बारेमा सबैलाई जानकारी गराएर प्याडको उपलब्धता सहज बनाउनुपर्ने बताउनुभयो ।

तालिममा सहभागीहरुले महिलालाई हरेक महिना प्याड खरिदका लागि पैसा जुटाउन समस्या हुने भन्दै कपडाको प्याड बनाउन जानेमा खर्च बचत हुने र आवश्यकताअनुसार प्रयोग गर्न पाइने बताए । बजारको प्याड प्रयोग गर्दा महँगो मूल्यसँगै प्रयोग गरेपछि फ्याँक्दा वातावरणमा असर पुग्ने र कतिपय महिलाले खर्च जोगाउन एउटै प्याड लामो समय प्रयोग गर्ने भएकाले सङ्क्रमणको जोखिम समेत हुने भएकाले कपडाको प्याड उपयुक्त हुने बताएका छन् ।

कपडाको प्याड प्रयोग गर्ने र त्यसलाई राम्रोसँग सफा गरेर पुनः प्रयोग गर्न सकिने भएकाले उपयुक्त हुने अभियान्ताहरुको भनाइ छ । यसको लागि महिलाहरुलाई महिनावारीबारे जानकारी दिएर सरसफाइ तथा धोएर सुकाउन समेत लाज मान्न नहुने कुरा बुझाउनुपर्ने अभियान्ताहरुको जोड छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया