सर्वोच्चको ‘फुल कोर्ट’ सम्पन्न, नियमावली संशोधनको निर्णय भएन

 जेठ २१, २०७८ शुक्रबार १५:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  सर्वोच्च अदालतको ‘फुल कोर्ट’ अर्थात न्यायाधीशहरूको पूर्ण बैठक सम्पन्न भएको छ । प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबराले सर्वोच्चका २० जना न्यायायाधीशसहित पूर्ण बैठक बोलाएर कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल गर्नुभएको हो ।

आजको बैठकमा संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्ने गरी नियमावली संशोधन गर्ने निर्णय हुने अनुमान गरिए पनि नियमावली संशोधनको बारेमा कुनै निर्णय भएको छैन । प्रतिनिधि सभा विघटनका मुद्दामा वरिष्ठताका आधारमा नयाँ इजलास गठन गर्ने तर नियमावली नै संशोधनको कुनै निर्णय नभएको सर्वोच्चले जनाएको छ ।

बैठकले कोरोना महामारीको अवस्था कम नभएको भन्दै अहिले जस्तै गरेर मुद्दाको सुनुवाइ गर्ने पनि निर्णय गरेको छ । प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ नै रोकिएको छ । न्यायायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मान्नुभएको छैन भने उहाँहरूकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गर्नुभएको छ ।

संवैधानिक इजलासको विषयमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नियमावली संशोधन गरेर नयाँ इजलास तोक्ने वचन दिनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया