चीनमा तीन वर्षमाथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुमति

 जेठ २५, २०७८ मंगलबार ७:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ ।

चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन अनुमति दिएको रोयटर्सले जनाएको छ । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो ।

तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ । यस्तै प्रयोगमा आएका कोरोना भाइरसविरुद्धकाे १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको हो । यो खोपलाई गएको हप्तामात्र विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन अनुमति दिएको थियो ।

सिनोभ्याकका सीइओ यीन एइदोङले तीन वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा दुई चरणमा गरिएको परीक्षणमा सिनोभ्याकको खोप १८ वर्षभन्दा माथिकालाई जत्तिकै प्रभावकारी देखिएको बताउनुभएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका प्रभावित भएका र तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आकलन भइरहेको बेला बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने निर्णयलाई महत्त्वपूर्ण मानिएको छ । दैनिक एक करोड ४० लाख डोज कोरोना विरुद्धको खोप लगाइरहेको चीनले केही समयमै बालबालिकालाई खोप दिन सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया