भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण हुनेकाे सङ्ख्या एक लाखभन्दा तल

 जेठ २५, २०७८ मंगलबार १०:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । गएको अप्रिल ६ तारिखमा ९६ हजार नौ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा त्यसयता दैनिक एक लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको थियो ।

६३ दिनपछि पछिल्लो २४ घण्टामा ८६ हजार चार सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा दुई हजार एक सय २३ जना सङ्क्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा एक लाख ८२ हजार दुईसय ८२ जना सङ्क्रमणमुक्त भएका छन् ।

दैनिक चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टिसँगै अस्पतालमा बेड, अक्सिजन लगायतको अभाव भइरहेको भारतमा केही दिनदेखि अवस्था सामान्य बन्दै गएको छ । भारतमा अहिलेसम्म दुई करोड ८९ लाख ९६ हजार नौ सय जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७३ लाख ४१ हजारभन्दा धेरै निको भइसकेका छन् । भारतमा कोरोना सङ्क्रमणबाट तीन लाख ५१ हजार ३ सय ४४ जनाले ज्यान गुमाएका छन् । भारतले अहिलेसम्म २३ करोड ६१ लाख जनाभन्दा धेरैलाई कोरोना खोप लगाइसकेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया