‘ओलीकाे उदार आह्वान अस्वीकार गर्नु भनेकाे पार्टी एकताकाे पक्षमा नरहेकाे बुझ्न सकिन्छ’

 जेठ २७, २०७८ बिहिबार १३:२९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले माधव नेपाल–झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताउनुभएको छ । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गर्नुभएको आह्वानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको उपप्रधानमन्त्री पाैडेलले बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा अर्थ मन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताउनुभयो ।

उहाँले पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताका लागि घातक भएको बताउनुभयो । यसरी घातक खेलमा लागेका व्यक्तिहरू अलग हुन सक्ने तर पार्टी विभाजन हुन नसक्ने उपप्रधानमन्त्री पाैडेलले स्पष्ट पार्नुभयो । 

संस्थापन पक्षले पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने उहाँकाे भनाइ छ । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरूलाई कसैले साथ नदिने तर्क गर्नुभयो । आफूहरूले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रूपमा असफल बनाउने पनि अर्थ मन्त्री पौडेलले बताउनुभयो ।

यसअघि गएकाे आइतवार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन आफू तयार रहेको तर सर्वोच्चमा बुझाइएको रिटको हस्ताक्षर फिर्ताको प्रस्ताव राख्नुभएको थियो ।

यही प्रस्ताव जवाफ दिँदै खनाल–नेपाल पक्षले छलछाम र षड्यन्त्रपूर्वक किसिमले कुरा गरेर राष्ट्र र नागरिक तथा पार्टीपङ्क्तिको भवनाअनुसार पार्टीमा एकता कायम नहुने कुरा स्पष्ट हुँदा हुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अवलम्बन गरिनु दुःख र चिन्ताको विषय भएको बताएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया