फिलिपिन्समा पोलियो उन्मूलन भएको घोषणा

 जेठ २८, २०७८ शुक्रबार १८:४२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रसङ्घीय बालकोष युनिसेफले फिलिपिन्समा पोलियो उन्मूलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्ष पहिले निकै सङ्क्रामक मानिएकाे यस राेग फिलिपिन्समा फेरि देखिएपछि देशव्यापी पोलियो उन्मूलन अभियान चलाइएको थियो । तर, यस वर्षको जुन ३ देखि पोलियो रोकथाम अभियान औपचारिक रुपमा स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रसङ्घीय बालकोष युनिसेफले जनाएका छन् ।

गएको १६ महिनाको अवधिमा कुनै पनि बालबालिका तथा वातावरणमा भाइरसका अवशेष नभेटिएपछि उन्मूलनको घोषणा गरिएको हो । खोप र निगरानीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएपछि पोलियोका नयाँ बिरामी नभेटिएको विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ का कारण ठूलो सङ्कट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो । युनिसेफले फिलिपिन्सको स्वास्थ्य सेवा विभागका लागि खोप खरिद र ढुवानी, खोप निर्देशिका निर्माण तथा सामाजिक परिचालन समेतका विषयमा सहयोग गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले विश्वका दुई राष्ट्र अफगानिस्तान र पाकिस्तानमा भने अझै पोलियोको समस्या छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया