३५ वर्षीया अन्निटा डिमेट्रिओ साइप्रसकाे पहिलो महिला सभामुखमा चयन

 जेठ २८, २०७८ शुक्रबार १९:४६:३७ | रासस
unn.prixa.net

काठमाण्डाै - साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन हुनु भएको छ।

साइप्रसको कुल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो ।  सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।

साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।

डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु भएको थियो । बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यहरुले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो । साइप्रसको राजनीतिमा महिलाको सहभागिता पुरुषको दाँजोमा निकै कम हुने गरेको छ ।

अहिले साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीन जना मात्र मन्त्री छन् । राष्ट्रपति अनास्तासियाडेसले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा महिलाको सहभागिता वृद्धि गर्ने घोषणा पनि गर्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया