बेनीको मङ्गलाघाटमा बाढीले क्षति, बस्तीसहित कार्यालयका भवन जोखिममा

 जेठ २९, २०७८ शनिबार १२:२०:४७ | रासस
unn.prixa.net

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा रहेकाे सरकारी कर्मचारी आवास क्षेत्रमा आज बिहान बाढी पसेको छ । हिजाेसाँझदेखि परेको वर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ । बेनी–अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मङ्गलाघाट क्षेत्रमा रहेको आठ वटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ । 

भू–तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई/दुई वटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरी तथा सँगै रहेको नर्सरीको भण्डारण भवनमा बाढी पसेको छ । सहायक वन अधिकृत नवीन विश्वकर्माले सात वटा भवनको भुइँ तलामा बाढी पसेर हिलाम्मे भएको बताउनुभयो । 'राति दुई बजे बाढी आएपछि भागाभाग भयो', उहाँले भन्नुभयो'तर्काउने प्रयास गर्दागर्दै कोठा भित्रै पसेर हिलाम्मे बनायो ।'

वन डिभिजनको बहुवर्षे र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ । रोप्नका लागि तयार भएका दुई वटा नर्सरीका एक लाख ५० हजार बिरुवा नष्ट भएका छन् । यस ठाउँमा गएकाे वर्षको भदौमासमेत बाढी पसेको थियो ।

भू–तथा जलाधार संरक्षण कार्यालय म्याग्दी एकाइका प्रमुख शम्भुकुमार मिश्रले गएकाे वर्षको बाढीले थुपारेको माटो व्यवस्थापन गरेको तीन दिन नबित्दै पुनः बाढी आएको बताउनुभयो । 'बेनी–महारानी थान खण्डको सडक सुधारका लागि निकालिएको माटो पाखोबाट आएको बाढीले बगाउँदा नयाँ ठाउँबाट बाढी बनेर आवास क्षेत्रमा पसेको छ', उहाँले भन्नुभयो,'बाढीको पूर्ण नियन्त्रण नहुँदासम्म जोखिम हुने भएकाले आवास स्थानान्तरण गर्नुपर्ने देखियो ।'

त्यही ठाउँमा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आवास भवन जोखिममा परे पनि क्षति पुगेको छैन् । कृषि ज्ञान केन्द्रको आवास भवन वरपर निर्माण भएको पर्खालले छेकेकाले तुलनात्मक रुपमा कम बाढी पसेको छ । निर्वाचन कार्यालय जाने सडक भत्किएको छ ।

सरकारी भवनभन्दा पछाडि करिब दश परिवार बसोबास गर्ने मुस्लिम समुदायको सुकुम्बासी बस्ती छ । पाखो र सडकबाट आउने सुरक्षित र व्यवस्थित निकास नगर्ने हो बाढीले क्षति पुर्याउने देखिएको कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया