पहिलेको ‘खाराको डाँडो’ अहिले बन्यो ‘लभ्ली हिल’ (फोटो फिचर)

 जेठ ३१, २०७८ सोमबार १६:५२:५२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – उत्तर तर्फ धौलागिरि र अन्नपूर्ण हिमाल । तलतिर हेर्दा कालीगण्डकी नदीको किनारैमा अवस्थित बेनीबजार । वरपरका डाँडाकाँडासहित तरेली परेका पहाडको मनोरम दृश्य नियाल्न पाइने म्याग्दीको लभ्लीहिल पुगेपछि जोकसैको मन फुरुङ्ग भैहाल्छ ।

छोटो समयमै पर्यटकीय गन्तव्यको पहिचान बनाउन सफल जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरामा अवस्थित लभ्लीहिल पर्यटक आकर्षणको थलो बनेको छ । लभ्लीहिलमा खासगरी स्वदेशी पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय पर्यटकीयस्थल बनेको लभ्लीहिलको पुरानो नाम भने ‘खाराको डाँडो’ हो । डाँडामा रहेका केतुकीको बोटमा बाँदर हुल्लेरी खेल्ने ठाउँ अहिले लभ्लीहिल बनेको छ । 

पर्यटक पुगेर डाँडामा बस्ने, रमाउने गर्दागर्दै लभ्लीहिल नामाकरणपछि नै यस स्थानमा भौतिक पूर्वाधारको विस्तार हुनुका साथै पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । स्थानीयवासिन्दाको पहल तथा सरोकारवाला निकायको साथ र सहयोगमा लभ्लीहिलमा भौतिक पूर्वाधारको विकास निर्माणपछि पर्यटकहरुको आगमनमा वृद्धि हुँदै जान थालेको बताइएको छ । 

पर्यटकीय आकर्षणको गन्तव्य बनेको लभ्लीहिलमा पुगेपछि संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण हिमालको समेत चुचुरो देख्न सकिन्छ । लभ्लीहिलबाट म्याग्दी सदरमुकाम बेनीबजार, गलेश्वर क्षेत्र, पौलस्त्य पुलहाश्रम, केभहिल, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्रहरु देखिन्छन् । यस्तै म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ । 

खाराको डाँडो कसरी बन्यो ‘लभ्लीहिल’ ?

खबरा गाउँको पूर्व दिशातर्फ रहेको पुरानो नाम खाराको डाँडोमा धेरै पहिलेदेखि नै स्थानीयवासीहरु गर्मी छल्न जाने गर्दथे । पछि विस्तारै यस डाँडोमा विद्यालय तथा कलेज उमेर समूहका युवायुवतीहरु पुग्न थाले । खाराको डाँडोको आसपासका क्षेत्रमा रहेका केतुकीका गाँज र बाँसको बोटमा त्यहाँ पुग्ने केटाकेटीहरुले केतुकीको पात र बाँसमा लभ्ली भनेर नाम लेखेका थिए । पछि त्यही लभ्लीसँगै डाँडो जोडेर ‘लभ्ली डाँडो’ भन्ने गरेको हुँदा पछि आएर लभ्लीहिल नामाकरण भएको बेनपा–२, ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । खाराको डाँडामा हावा लिन तथा घुमफिर गर्नका लागि पुग्ने युवायुवती र केटाकेटीले नाम राखेकाले पछि आएर सबैले लभ्लीहिल भन्दाभन्दै पर्यटकीयस्थलको रुप लिएको उहाँको भनाइ छ । 

डाँडोमा पुगेर रमाउन पाउँदा आनन्दको महसुस हुनुका साथै चारैतिरको मनोरम दृश्यावलोकन गर्न पाइने भएपछि खाराको डाँडोभन्दा अर्को नाम लभ्लीहिल नाममा सबैले जोड दिएका हुन् । खाराको डाँडोमा खासगरी केटाकेटी जोडी बनेर जाने, रमाउने र मायाममता बाँड्ने भएकाले यसलाई उपयुक्त नाम लभ्लीहिल राखिएको बताइन्छ । डाँडामा पुगेर जोडी बनेर बस्ने, माया प्रेमका गफ गर्ने, खाजा खाने र भुल्ने जस्ता क्रियाकलापसँगै मायालु जोडी जाने क्रम बढेपछि लभ्लीहिल बनाइएको स्थानीयवासी बताउँछन् । 

पूर्वाधार विस्तारमा जोड

लभ्लीहिल बेनी नगरपालिकाको सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य हो । लभ्लीहिलमा दैनिकजसो पर्यटकहरु पुग्न थालेपछि यसको प्रचारप्रसारका साथै भौतिक पूर्वाधारको विस्तारमा जोड दिइएको छ । सदरमुकामदेखि नजिकको गन्तव्य र सवारीसाधन वा पैदलयात्रा गरेर लभ्लीहिलमा सजिलै पुग्न सकिन्छ । खाराको डाँडो लभ्लीहिलमा रुपान्तरण भएपछि सुरुमा आर्थिक वर्ष २०७३/७४ मा पर्यटन कार्यालय पोखराको पाँचलाख र स्थानीयको एकलाख ५० हजारसहित कुल ६ लाख ५० हजारको लागतमा भौतिक पूर्वाधारहरु निर्माण गरियो । 

बजेटबाट लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च, ४२ मिटर दुई लाइनको रेलिङ, एकवटा गोलघर (भ्यु–प्वाईन्ट) र पाँचवटा ६ फुटको आरामदायी बेन्च डिपीसी गरी निर्माण गरिएको थियो । सोही आवमा बेनी नगरपालिकाको साढे चारलाख र स्थानीयको एक लाखभन्दा बढीको श्रमदानमा थप १ सय ४६ मिटर तीन लाइनको रेलिङ थपियो ।    

पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएपछि लभ्लीहिलमा पर्यटकलाई भुलाउनका लागि हरियाली पार्क निर्माण भएको छ । सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण गर्नका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि हरियाली पार्क निर्माण गरिएको हो ।

ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहमार्फत बनाइएको पार्कभित्र दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदाबहार हरियाली भैरहने र सुगन्धवाल बिरुवाहरु रोपिएका छन् । लभ्लीहिलमा हरियाली पार्क बनाएर विभिन्न प्रजातिका बोटबिरुवा रोपेसँगै पछिल्लोपटक लभ्लीहिल भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै जान थालेको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले बताउनुभयो । 

त्रिपक्षीय साझेदारीमा पदमार्ग

पर्यटकीयस्थल लभ्लीहिल भ्रमण गर्नका लागि बेनपा–२, हाँडेभीरदेखि लभ्लीहिलसम्म ६ सय ६० मिटर लामो पदमार्ग निर्माण भएको छ । बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आईईसी र म्याग्दी उद्योग वाणिज्य संघले क्रमशः ५०, ४० र १० प्रतिशत लागत बेहोर्ने गरी कुल ७५ लाख ६८ हजार आठसय नौ रुपैयाँको लगानीमा पदमार्ग निर्माण गरिएको हो ।

पदमार्ग निर्माणसँगै बेनीदेखि लभ्लीहिल पुग्न, मर्निङवाक तथा इभिनिङवाक गर्न सहज भएको छ । यसका साथै खबरालगायत ज्यामरुककोट क्षेत्रमा उत्पादित स्थानीय कृषि उपजलाई बजारसम्म ल्याउन र आवतजावत गर्न पनि सहजता आएको स्थानीयवासिन्दाले बताएका छन् । पदमार्गको बीच भागमा बेनपा–७, बेनीका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले व्यक्तिगत लगानीमा आफ्ना स्वर्गीय आफन्तजन तथा पितृको सम्झना गर्दै जस्तापाताले छाएर बस्ने ठाउँ बनाइदिनुभएको छ । 

रेष्टुरेण्ट सञ्चालन तथा हावाबाट बिजुली उत्पादन

पर्यटकहरुको चहलपहल बढेसँगै पछिल्लोपटक लभ्लीहिलमा पर्यटकलक्षित रेष्टुरेण्ट स्थापना गरी सञ्चालनमा ल्याइएको छ । बेनी नगरपालिकाले भाडामा जग्गा उपलब्ध गराएपछि खबराका मानकाजी घिमिरेले मासिक छ हजार पाँचसय रुपैयाँ भाडा तिर्नेगरी लभ्लीहिल भ्युटावर होटल एण्ड रेष्टुरेण्ट सञ्चालन गर्नुभएको हो । यसका साथै लभ्लीहिल घुम्ने पर्यटकलाई लक्षित गरेर साँझमा बत्ती बाल्न तथा मोबाइल चार्जका लागि म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा भर्टिकल वाइन्ड टर्वाइनमार्फत ४ वटा बल्ब बल्ने क्षमताको विजुली प्लान्ट निर्माण भएको छ ।

लभ्लीहिलमा सङ्ग्रहालय बनाउने तयारी

पर्यटकीयस्थलको रुपमा विकास भैरहेको लभ्लीहिल क्षेत्रमा ऐतिहासिक सङ्ग्रहालय बनाउन आवश्यक पहल थालिएको छ । वडा कार्यालय र स्थानीयले ५ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरी पठाएकोमा त्यसलाई नगर कार्यपालिका वैठकले पनि अनुमोदन गरिसकेको छ । त्यसका लागि आवश्यक बजेट विनियोजन गरेर सङ्ग्रहालय बनाइने र त्यहाँ म्याग्दी आक्रमणमा परेर छियाछिया बनेको पोल अवलोकनका लागि राखिने योजना रहेको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो ।

कसरी जाने लभ्लीहिल ?

म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जान पदमार्ग निर्माण गरिएको छ । पदैलयात्रा गर्न रुचाउनेहरु पदमार्ग भएर लभ्लीहिल पुग्न सकिन्छ भने सवारीसाधनमा यात्रा गर्नेका लागि लभ्लीहिलसम्मै सडकको पहुँच विस्तार भएको छ । लभ्लीहिल पुग्नका लागि बेनीबाट जिप तथा ट्याक्सी सजिलै पाइन्छ । यसको अलवा आफ्नै सवारीसाधन बाइक तथा गाडी छ भने पनि त्यहाँ पुगेर रमाउन सकिन्छ । पदमार्ग हुँदै आधा घण्टामा पुग्न सकिने लभ्लीहिलमा सवारीसाधनदेखि १० मिनेटमा पुग्न सकिन्छ भने खबरा गाउँको आसपास भएर पनि लभ्लीहिल जान सकिन्छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया