आज बाढीको सम्भावना कहाँ कहाँ ?

 असार २, २०७८ बुधबार ११:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र भेरीका सहायक नदी जलाधार क्षेत्रमा आज बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र कोशीका सहायक नदीमा पानीको बहाव सामान्य रहने अनुमान छ ।

नारायणी, कर्णाली, महाकाली जलाधारका केही सहायक नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीमा पनि पानीको बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ ।

वाग्मती प्रदेशको काठमाण्डौसहित रसुवा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, गण्डकीको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, तनहुँ, स्याङजा, नवलपुर, लुम्बिनीको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया र रुकुम, कर्णालीको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट तथा सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास भइ बहने नदी जलाधारमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बिहानको मापन अनुसार नारायणी र नारायणीका सहायक नदीमा बहाव सर्तकता तह आसपास रहेको पनि बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो सिन्धुपाल्चोकको जलबिरेमा बलेफी खोला जलमापन केन्द्रमा आकस्मिक जलसतह बढेर खतरा तह पार गरेकोमा अहिले घट्दो क्रममा छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया