अस्पतालबाट नेता खनालको सन्देश : ‘पार्टी मिलाउनुस् कमरेड...’

 असार २, २०७८ बुधबार १३:३९:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ । थापाथलीमा रहेकाे नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । 

‘पार्टी मिलाउनुस् कमरेड...’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन । 

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई गएकाे जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । 

केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया