मेलम्ची खानेपानी आयोजनाकाे ‘हेडवर्क्स’ लगायत संरचना डुबानमा

 असार २, २०७८ बुधबार १८:३३:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चोक – अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका १ अम्बाथानमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरू डुबानमा परेका छन् । 

बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भए पनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार हेलिकप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ । नदी बढेकाले ‘हेडवर्क्स’ लगायत संरचना अहिले पानीमुनि रहेका छन् ।

आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तले बताउनुभयो । निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाण्डाै पुर्‍याइएकाे छ ।  

अत्यधिक वर्षाका कारण नदीको तह बढेको भए पनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ । कतिपय स्थानीयवासीमा सुरुङ परीक्षण सुरु गरेकै दिनदेखि बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ । प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिनुभयो ।

अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मानवीय र भौतिक क्षति भएको छ ।   

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया