पाेर्चुगल भर्सेस बेल्जियम अर्थात् राेनाल्डाे भर्सेस लुकाकु !

 असार १३, २०७८ आइतबार १८:१६:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै  – युरो कपमा नकआउट चरणको दोस्रो दिन आइतवार मध्यरातमा गएको वर्षको च्याम्पियन पोर्चुगल र विश्वको नम्बर एक टिम बेल्जियमबीच खेल हुँदैछ । सेभियामा हुने खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो उपाधि बचाइराख्न मैदानमा उत्रिने छन् । उता रोमेलु लुकाकुको टिम बेल्जियम पनि सन् १९८९ पछि पहिलो पटक पोर्चुगललाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । 

बेल्जियमको कुरा गर्दा उसले लिग चरणको ग्रुप ‘बी’ मा शीर्ष टिम बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । उसले पछिल्लो तीन खेलमा रुसलाई तीन–शून्य, डेनमार्कलाई दुई–एक र फिनल्यान्डलाई दुई–शून्यले हराएको छ । यो टिममा स्टार खेलाडीको कमी छैन । जसमा केभिन डी ब्रयुन, युरी टायलेमेन्स, कप्तान एडन हेजार्ड र रोमेलु लुकाकु जस्ता खेलाडी छन् । यो टिम रोनाल्डोको पोर्चुगललाई टक्कर दिन पूरा कोसिस गर्नेछ । बेल्जियमले यसअघि विश्व कप २०१८ जस्तो ठूलो प्रतियोगितामा ब्राजिललाई हराएको छ । यसरी हेर्दा बेल्जियम बलियो देखिन्छ । 

यता पोर्चुगलको कुरा गर्दा उसले ‘ग्रुप अफ डेथ’ भनिने ग्रुप ‘एफ’ मा तेस्रो स्थानमा रहँदै नकआउटमा स्थान बनाएको हो । पोर्चुगलले पछिल्लो तीन खेलमा हङ्गेरीलाई तीन–शून्यले हरायो भने जर्मनीविरुद्ध आत्मघाती गोल गर्दा उसँग दुई–चारले हार बेहोरेको थियो । अन्तिम खेलमा कप्तान रोनाल्डोको दुई गोलमा पोर्चुगलले फ्रान्ससँग दुई–दुईको बराबरी खेलेको थियो । यस्तो अवस्थामा कप्तान रोनाल्डोमाथि युरो कपको उपाधि जिताउने जिम्मेवारी हुनेछ । 

रोनाल्डो भर्सेस लुकाकु  

पोर्चुगलको तर्फबाट उसका कप्तान क्रिस्टियानो रोनाल्डोले धेरै गोल गरेका छन् । रोनाल्डोले लिग चरणको तीन खेलमा पाँच गोल गरेका छन् । यता बेल्जियमको तर्फबाट लुकाकुले तीन गोल गरेका छन् । यस्तोमा पोर्चुगल र बेल्जियमबीचको खेलमा यी दुई स्ट्राइकरमाथि सबैको आँखा पर्नेछ । 

जोर्डनको डक्युमेन्ट्रीबाट प्रेरणा लिइरहेका लुकाकु

पोर्चुगल जस्तो ठूलो टिमविरुद्ध मैदानमा उत्रनुअघि बेल्जियमका स्ट्राइकर लुकाकु महान् बास्केटबल खेलाडी माइकल जोर्डनको डक्युमेन्ट्री हेरेर प्रेरणा लिइरहेका छन् । खेलअघि बेल्जियमका प्रशिक्षक रोबर्टाे मार्टिनेजले भने, ‘पोर्चुगललाई हराउन सजिलो छैन र यस्तो टिमविरुद्ध खेलको लागि हामी कैयौँ महिनादेखि तयारी गरिरहेका छौँ ।’

नम्बर गेम

एक सय नौ गोल आफ्नो राष्ट्रिय टिम पोर्चुगलका लागि गरेका रोनाल्डोले अली देईको कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले अब एक गोल गरे भने विश्वमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने एक्लो खेलाडी बन्ने छन् । 

नकआउट चरणमै आज पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक खेल्दै छन् ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया