तीन वर्षपछि कोठीबाट भागेर आउँदा...

 असार २०, २०७८ आइतबार १६:५८:२३ | इन्द्रसरा खड्का
unn.prixa.net

‘त्यो कालकाेठरीबाट त उम्केर आएँ, अब मलाई उसले सजाय पाएको हेर्न मन छ । मलाई नोकरीको झुटो आशा देखाइ कोठीमा पुर्‍याउनेलाई अब कानुनअनुसार नेपालको कालकोठरीमा पुर्‍याउनु छ’, आँखाभरि आँसु बनाउँदै क्रोध मिश्रित स्वरमा रानी (नाम परिवर्तन) ले भनिन् ।

रानीले थपिन्, ‘हुन त म के गर्न सक्छु, न त उसको गाउँ थाहा छ, न त उसको वास्तविक नाउँ तर मसँग उसको फोन नम्बर र फोटो छ । यति भए कसो पत्ता नलाग्ला र ?’, नुवाकोट दुप्चेश्वरकी २५ वर्षीया रानी अहिले काठमाण्डौको एक संस्थामा बसेकी छन् । तीन वर्ष दिल्लीको कोठीमा बसेकी उनी गएको जेठ १४ गते कोठीबाटै भागेर नेपाल आएकी छिन् । परिवर्तनका लागि सहकार्य नेपाल नामको संस्थाको सहकार्यमा उनी दिल्लीबाट नेपाल फर्कन सफल भएकी हुन् ।

घरजमसँगै सुरु भएको घरेलु हिंसा

घरको कमजोर आर्थिक अवस्था, त्यसमाथि धेरै सन्तान । रानीका बुबाआमालाई छोराछोरी पाल्न नै दुःख थियो । रानी १० वर्षकी हुँदा उनका बुबाआमाले काठमाण्डौको असनमा रहेको एउटा घरमा काम गर्न राखे । त्यहाँ उनले बच्चाको हेरचाह, घरको सरसफाइमात्र गर्नु पर्थ्याे । घर मालिकले बस्न  र खान राम्रै दिएका थिए । 

रानीले पाँच वर्ष त्यही घरमा काम गरिन् । पढ्ने/लेख्ने समय अरूको घरमा बच्चा खेलाउँदै र घर सफा गर्दै बित्यो । उनी काम गर्ने घर नजिकै होटल थियो । उनी त्यो होटलबाट कहिलेकाहीँ खाजा किनेर खान्थिन् । कहिले खाजा लिन, कहिले त्यत्तिकै फुर्सदमा होटल गइरहन्थिन् । त्यसै क्रममा रानीको भेट नुवाकोटकै केटासँग भयो । 

भेटपछि रानी र त्यो केटाको बोलचाल हुन थाल्यो । रानीसँग मोबाइल थियो । होटलमा भेट भएको केटासँग रानीको मोबाइलमा पनि कुरा हुन थाल्यो । तीन चार महिनाको फोन र भेटघाटपछि रानीले त्यो केटासँग भागी विवाह गरिन् । बिहेपछि रानी श्रीमानसँगै बस्न थालिन् ।

उनको श्रीमान् ज्याला मजदुरी काम गर्थे । बिहेपछि तीन/चार महिना उनीहरू गाउँमा बसे । पछि उनको श्रीमानले राम्रो काम पाउन सकेनन् । त्यसपछि श्रीमानले काठमाण्डौ ल्याए । दुवै जना यतै काम गरी बस्न थाले । बिहे गरेको तीन वर्षपछि रानीको छोरा जन्मियो । श्रीमानले राम्रो काम पाउन सकेनन् । 

कोठामा बस्दा पैसा नहुँदा श्रीमान् रानीसँग झर्केर बोल्न थाले । रानीले बच्चा जन्मेको एक वर्षपछि काम खोजिन् । उनले जमलको बुक कारखानामा काम पाइन् । त्यहाँबाट आएको पैसाले रानीको श्रीमानले रक्सी खान थाले । रानीले अर्को काम पनि सुरु गरिन् । बिहान कारखाना र  दिउँसो अस्पतालमा सरसफाइको काम गर्थिन् ।  दुई ठाउँमा काम गर्नुपर्दा रानीको बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म घरबाहिरै रहनुपर्‍याे । रानी काममा जाँदा श्रीमानले शङ्का गर्न थाले । त्यसपछि सुरु भयो रानीमाथि घरेलु हिंसा । 

कहिले रक्सी खाएर कुट्ने, कहिले पैसा नदिएको भन्दै कुट्ने गर्थे । श्रीमानले मार्ने धम्की पनि दिन थाले । रानी काममा जान नसक्ने अवस्थामा पुगिन् । यसरी उनको आशा भरोसा टुट्न थाल्यो । जीवन अन्धकार लाग्न लाग्थ्यो । त्यही क्रममा एकदिन जान्द्रे नामको व्यक्तिले उनलाई फोन गर्‍याे । 

जान्द्रेले उनको फोन नम्बर कसरी पायो उनले थाहा नै पाएनन् । जान्द्रे र रानीको थर एउटै भएकाले उसले भाञ्जी भनेर बोलाउँथ्यो । रानी आफ्नो मनको पिर पोख्न मामा पाएकोमा मख्ख परिन् । केही समयपछि जान्द्रे रानीका श्रीमानसँग कोठामा आउने–जाने पनि गर्न थाल्यो । उनीहरू एकअर्कालाई साथी जस्तै व्यवहार गर्थे । श्रीमानसँग भएको झगडा जान्द्रेलाई राम्ररी थाहा थियो ।  

यसरी पुगिन् दिल्ली 

तीन वर्षअघिको कुरा हो, जान्द्रेले रानीलाई श्रीमानको कुटाइ सहेर बस्नुभन्दा अर्को काम गर्न सल्लाह दियो । उसले आफैँ राम्रो काम खोजिदिने वाचा गर्‍याे । श्रीमान्को कुटाइबाट पीडित रानीलाई उसको कुरा सही लाग्यो । ​जान्द्रेले रानीलाई सारीमा बुट्टा भर्ने काम  खोजिदिएको बतायो । ‘खान/बस्नसहित राम्रो पैसा दिन्छ, यस्तो श्रीमानसँग बस्नु भन्दा उतै गएर काम गर्दा राम्रो हुन्छ । म तिमीलाई काम खोजिदिन्छु भन्यो, मैले पनि हुन्छ भनेँ । के थाहा उसले त मलाई दिल्ली पुर्‍याउने योजना बनाएको रहेछ’, रानीले त्यो क्षण सम्झिइन् । 

राम्रो नोकरी भनेपछि रानी मामासँगै गइन् । यो २०७५ साल साउनको अन्तिमतिरको कुरो हो । जान्द्रेले उनलाई स्वयम्भूबाट बसमा चढाए । त्यसपछि कता लग्यो रानीलाई पत्तै भएन । त्यो दिन सम्झँदै रानीले भनिन्, ‘काठमाण्डौभित्रै हो । ठाउँ टाढा छ, गाडीमा जानुपर्छ भन्दै कता लाग्यो थाहै पाइनँ । जानु भन्दा अघि उसले कोक पिउन दिएको थियो । बल्ल भोलि बिहान ९ बजे गाडीबाट झर्‍याैँ ।’ 

जान्द्रेले बाटोमा पटक–पटक फोनमा कुरा गरिरहन्थ्यो । तर हिन्दी भाषामा के बोल्थ्यो उनलाई थाह भएन । ‘गाडीमा राति सुतेछु, थाहै पाइनँ । बिहान नौ बजे खै कता पो हो । मामालाई सोध्दा अब पुग्दैछौँ भनी भन्यो । आफैँ कुन ठाउँ हो हेरौँ भनेँ तर लेखेको पढ्न जानिनँ’, जान्द्रेले काममा लगाइदिने भनेकाे दिन सम्झँदै रानीले भनिन् ।

रानीलाई कुन सीमा हुँदै भारत लगेको हो भन्ने समेत थाहा छैन । बसबाट झरेपछि रानीलाई अर्को मान्छे आएर मोटरसाइकलमा राखेर खेतैखेतको बाटो लग्यो । ‘के थाहा त्यतिखेर त नेपाल–भारतको सीमा कटाएको रहेछ’, रानीले भनिन् । भारत पसिसकेपछि त्यहाँको भाषा र मान्छे हेर्दा रानीलाई अर्कै लाग्यो । उनी भन्छिन्, ‘टिभीमा देखेको थिएँ । त्यस्तै–त्यस्तै भाषा लाग्यो तर त्यतिखेरसम्म पनि म कहाँ जाँदैछु, यो कुन ठाउँ हो भन्ने थाहा थिएन ।’ 

काठमाण्डौबाट हिँडेको दुई दिनपछि जान्द्रे र रानी होटलमा बसे । रानीले हातमुख धोएर चिया खाइन् । चिया खाइसक्ने बित्तिकै एउटा महिला आइन् । उनले रानीलाई तिमीलाई काम लगाउने म नै हो भनेर आफ्नो घर लगिन् । त्यो दिन जान्द्रे र रानी त्यही घरमा बसे । पछिल्लो बिहानै महिलाले रानीलाई काममा जान तयार पारिन् । जान्द्रेले तिमी काममा जाऊ म पछि भेट्छु भन्दै घरमा नै बस्यो ।

‘काम सुनेर रोएँ’ 

रानी जहाँ पुगिन्, त्यहाँ अचम्म देखिन् । ठूलो फल्याट थियो । स–साना केटीहरूदेखि लिएर युवतीहरू बसेका थिए । उनीहरूले लगाएको लुगा, गरेको सिङ्गारपटार अर्कै थियो । उनलाई यस्तो कस्तो काम होला जहाँ चिटिक्क परेर बस्नुपर्छ भन्ने लाग्यो । त्यहाँ पुग्नेबित्तिकै ती महिलाले रानीलाई पनि तयार हुन लगाइन् । ‘काम गर्न किन यति सिङ्गारपटार गर्नुपर्छ होला भनेर मैले ती महिलालाई सोधेँ– राम्री बनेर गर्ने कस्तो काम हो ? अनि उनले अब तैँले धन्दा सुरु गर्नुपर्छ भनिन् । मलाई धन्दा भन्ने नै थाहा थिएन । कस्तो, के काम हो भन्ने लाग्यो । पछि थाहा पाएँ मैले त त्यहाँ आउनेसँग यस्तो काम गर्नुपर्ने रहेछ’, रानीले भनिन् ।

त्यो थाहा पाउनेबित्तिकै रानीले त्यस्तो काम गर्दिनँ भनेर रोइकराइ गरिन् । तर जालमा परिसकेपछि कसरी उम्कन पाइन्थ्यो र ! मन नभइ–नभइ पनि काम गर्न तयार हुनुपर्‍याे । ‘एक हप्तासम्म खाना नखाएरै बसेँ, त्यो काम गर्न तयार भइनँ । शरीर निलडाम हुने गरेर पिट्यो । तँलाई किनेर ल्याएको हो, काम नगरेर हुन्छ भन्दै पिट्दै मेरै आँखा अगाडि एउटा केटीलाई तीन/चार दिनसम्म खाना खान नदिएर कोठामा थुनेको र मारेर फालेको पनि देखेँ । यो देखेपछि मेरो अगाडि कुनै उपाय नै भएन बाध्यताले त्यो काम गर्न स्वीकार गरेँ’, रानीले आफ्नो विवशता सुनाइन् ।

रानीले काम गर्न सुरु गरेपछि मालिकनीले गर्न हुने, नहुने सबै कामबारे बेलिबिस्तार लगाइन् । आफूसँग आएका ग्राहकसँग धेरै नबोल्न, कसैले सोधे आफ्नो इच्छाले आएको भन्न, नेपालको आफ्नो ठेगाना नबताउन भनिन् । यदि कसैलाई सत्य कुरा भन्यो भने जमिनभित्रको कोठामा लगेर कहिल्यै बाहिर नल्याउने चेतावनी पनि दिइन् । ‘मैले यही डरले पनि कसैसँग सत्य कुरा बोल्ने हिम्मत राखिनँ । जो आउँथ्यो तयार हुन पर्थ्याे । मन नभइ–नभइ पनि सबै गर्नु पर्थ्याे । तीन वर्षका हरेक दिन–रात रोएर बाँचेँ’, रानीले कोठीको व्यथा सुनाइन् ।

कोठीमा रात होस् या दिन । जतिबेला ग्राहक आए, त्यति बेला तयार हुनु पर्थ्याे । एकै दिनमा ३० भन्दा धेरैलाई खुसी पार्नु पर्थ्याे । ‘यी कुरा कसरी तपाईँलाई सुनाऔँ, कति पीडा हुन्थ्यो, सकिनसकी पनि काम गर्नै पर्थ्याे’, रानीले आफूले पाएको दुःख सुनाइन् ।

कालकोठरीका काला दिन 

कोठीभित्र के रात के दिन थाहा हुँदैन थियो । बाहिर घाम लागेको छ कि, पानी परिरहेको छ पत्तो हुँदैन । मात्र थाहा हुन्थ्यो ग्राहकको समय । कहिलेकाहीँ  यसो झ्यालबाट बाहिर हेर्न खोज्दा मालिकनीले गाली गर्थिन् ।

‘बाहिर देख्न पाउने भनेको प्रहरी आउँदा भाग्नुपरे, बिरामी हुँदा अस्पताल जानुपरे मात्र हो । लुगा, सिङ्गारका सामान किन्न पनि व्यापारीहरू भित्रै आउँथे’, रानीले भनिन् ।

दिनहुँ २०/३० जनासँग सम्पर्क गर्दा कति पटक बिरामी हुन्थिन् । औषधी खाएर, सुइ लगाएर पनि काम गर्नु पर्थ्याे । ‘बेला–बेलामा कोठीमा प्रहरी आउँथे । प्रहरी आएको बेला भागाभाग हुन्थ्यो । जमिनमुनि पनि कोठा बनाएको हुँदो रहेछ । प्रहरी आएको बेला धेरै पटक हामी त्यहीँ लुक्यौँ’, उनले भनिन् ।

तीन वर्षमा तीन कोठी

पहिलो पटक उनलाई दिल्लीको जीबी रोडको कोठी नं. ५६ मा राखिएको थियो । त्यसको झन्डै एक वर्षपछि उनलाई फेरि जीबी रोडकै ५९ नम्बरको कोठीमा पुर्‍याइयाे । त्यसको एक वर्षपछि फेरि अर्को ठाउँमा पुर्‍याइयाे । पहिलो कोठीमा उनलाई नितुको नाममा बोलाइयो, दोस्रो कोठीमा किन्जल । ‘तेस्रो कोठीमा पनि अर्कै नाम राखेको थियो तर मैले नितु नै भनेँ’, रानीले भनिन्, ‘तीन वर्ष बस्दा मलाई ग्राहकसँगको काम भन्दा पर केही थाहा भएन । कसैसँग बोल्न र कतै जान नपाइने ।’ जति ठाउँमा रानी बसिन्, त्यहाँ धेरैजसो नेपाली केटीहरू र मालिकनी थिए । 

दिनहुँको धन्दाले रानी पटक–पटक बिरामी भइन् । बिरामी भए पनि औषधि खाएर काम गर्नु पर्थ्याे । रानीलाई सेतो पानी बग्ने, पेट दुख्ने समस्या भयो । पछि बेस्सरी रगत बग्न थाल्यो । अस्पतालमा गएर जाँच गर्दा टीबी भएको थाहा भयो ।  एक दिन रानी अस्पतालमा बसिरहेकी थिइन् । अर्की महिला आएर कुरा गर्न थालिन् । उनी नेपाली बोलेको सुनेपछि रानी पनि बोलिन् । 

चिनजान गर्दै जाँदा रानीले उनलाई आफू बस्ने ठाउँ र गर्ने कामबारे बताइन् । उनले त्यो ठाउँबाट निस्कन चाहेमा आफूले सहयोग गर्ने बताइन् । अनि कसैले थाहा नपाउने गरी मोबाइल किनेर सिम किन्न सुझाव दिइन् । रानीले त्यसै गरिन् । 

ती सहयोगी दाइ

रानीले मोबाइल किनेको कुरा कोठीभित्रै काम गर्ने एक जना केटालाई बताइन् । ती केटाले यो कुरा कसैलाई नभन्न सल्लाह दिए । उनले फेसबुकसमेत खोलिदिए । रानीले फेसबुकमा आफ्नो दाइलाई खोजेर रिक्वेस्ट पठाइदिन ती केटाले नै सहयोग गरे । लगत्तै रानीको दाइसँग सम्पर्क भयो । रानीले आफू समस्यामा परेको बताएपछि नेपालबाट उनका दाइ भारत लिन गए ।

रानीको दाइलाई भारतमा बस्न र भेट गराउन ती नेपाली महिलाले सहयोग गरिन् । नेपालबाट भने परिवर्तनका लागि सहकार्य नेपाल संस्थाले रानीका दाइलाई भारत पठाउन सहयोगका लागि दिल्लीमा रहेको संस्थासँग समन्वय गर्‍याे । नेपाली महिला र परिवर्तनका लागि सहकार्य नेपाल संस्थाको सहयोगमा रानी गएको जेठ १४ गते त्यो कालकोठरीबाट भागेर नेपाल फर्कन सफल भइन् ।

जान्द्रेको नाममा उजुरी

नेपाल फर्केपछि उनले दिल्लीमा लगेर बेच्ने जान्द्रेविरुद्ध उजुरी दिएकी छिन् । गएको जेठ १५ गते बबरमहलमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोमा रानीले उजुरी दिएकी हुन् । जान्द्रेको फोन नम्बर र फोटोसहित उजुरी दिएकाले ऊ पक्राउ पर्नेमा रानी विश्वस्त छिन् ।

उनी भन्छिन्, ‘फोटो दिएको छु । नम्बर पनि छ, प्रहरीले चाह्यो भने उसलाई सजिलै पत्ता लगाएर पक्राउ गर्न सक्छ । सरकारले बेचबिखन गर्ने हरेकलाई हदैसम्मको कारबाही गर्नुपर्छ । गाउँ–गाउँमा छोरीलाई शिक्षा दिनुपर्छ र बेचबिखन हुनबाट बचाउनुपर्छ ।’  

अन्तिम अपडेट: कात्तिक २, २०७८

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया