नेपालको निर्यात एक खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

 असार ३१, २०७८ बिहीबार १४:६:२० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ३७ दशमलव ८ प्रतिशतले वृद्धि भइ एक खर्बमाथि पुगेको हो ।

अघिल्लो वर्षको यही अवधिमा यस्तो निर्यात शून्य दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य देशतर्फ क्रमशः ४३ दशमलव ३ प्रतिशत र २५ दशमलव ९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फकाे निर्यातमा १७ दशमलव ४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाबिन तेल, अलैँची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ । चालु आवको ११ महिनामा कुल वस्तु आयात २५ दशमलव सात प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आयात १५ दशमलव ३ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने देशका आधारमा भारत, चीन तथा अन्य देशबाट भएको आयात क्रमशः ३२ दशमलव २ प्रतिशत, २४ दशमलव शून्य प्रतिशत र नाै दशमलव नाै प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूर–सञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको केन्द्रीय बैंकले जनाएको छ । 

यस्तै हवाई जहाजका पार्टपुर्जा, कच्चा पामतेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, चाँदीलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को ११ महिनामा कुल वस्तु व्यापार घाटा २४ दशमलव ६ प्रतिशतले वृद्धि भइ १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा १६ दशमलव ४ प्रतिशतले घटेको थियो । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया