रसुवागढी नाकाबाट २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात

 साउन २, २०७८ शनिबार १३:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रसुवा – आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै दुई सय सात टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । गएको साउनदेखि असार मसान्तसम्म दुई सय सात टन खाद्य सामग्री आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।

तथ्यांक अनुसार फूल तथा सागपात ४४ दशमलव ४ टन, खाद्यान्न दलहन तथा अन्य ७५ दशमलव ३ टन, मसलाजन्य ३ दशमलव ४ टन, दुधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशमलव ४, चियाजन्य १४ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका सामग्री ६१ दशमलव ३ टन आयात भएको हो ।

नाकाबाट सामग्रीको आयात विस्तारै बढ्दै जाँदा खाद्य सामग्रीको आयात केही बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो । ‘रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात भइरहेको छ’, उहाँले भन्नुभयो, ‘नाकामा आयात सहज नहुँदा सामग्री धेरै आएको छैन ।’ 

आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असार मसान्तसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।

आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे’, अनुसन्धान अधिकृत  देउजाले भन्नुभयो, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन् ।’

कार्यालयले गएको साउनदेखि असार मसान्तसम्म २ सय ३ वटा सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयको तथ्यांक अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १०, जेठमा २१ र असारमा ९ वटा सामग्रीको नमुना परीक्षण गरिएको छ । 

गएकाे आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । २०७६ माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना आएको थिएन । खाद्य सामग्रीको लेबलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गएकाे आर्थिक वर्षमा केही महिना परीक्षण हुन नसकेको हो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया