उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

 साउन ६, २०७८ बुधबार १८:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताउनुभएको छ । बुधवार नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभामा अर्थ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रूपमा नयाँ सङ्कल्पको खाँचो रहेको बताउनुभएको हो । 

अर्थ मन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगको सञ्जाल निर्माण गर्दै ठूला उद्योग स्थापना गर्नु आवश्यक रहेको पनि बताउनुभयो । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरिकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उहाँको भनाइ छ । देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगीकरण भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हाम्रो चुनौती हो । यसलाई बदल्नका लागि नीतिगत, योजनागत रूपमा, कार्यान्वयनका दृष्टिकोणले र प्रतिबद्धताका दृष्टिकोणले एउटा नयाँ सङ्कल्पको आवश्यकता छ, हामीले स्थानीयस्तरमा, प्रदेशस्तरमा साना उद्योगको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगको बीचमा फेरि ठूला उद्योग स्थापना गर्नुपर्ने आवश्यकता छ । औद्योगिक क्षेत्रमा विशेष लगानी, विशेष जोड नगरिकन हामी देशलाई आत्मनिर्भर बनाउन सक्दैनौँ । हाम्रो आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनका लागि यो अत्यन्त आवश्यक छ । व्यापार घाटाको जो समस्या छ, त्यसलाई हामीले निराकरण गर्नका लागि औद्योगीकरण नै हाम्रो मुख्य आधार हो ।’

अर्थ मन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाकाे प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताउनुभयो ।

कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा प्रविधिकाे क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनका निम्ति प्रधानमन्त्री र अर्थ मन्त्री समक्ष आग्रह गर्नुभयो । उहाँले नेपालमा उद्योग धन्दा सञ्चालन गर्नका लागि बिचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पुर्‍याउनुपर्ने पनि बताउनुभयो ।

सांसद चाैधरीले भन्नुभयो, ‘प्रधानमन्त्री, अर्थमन्त्रीलाई आग्रह गर्दछु कि एकचोटि अब फेरि नेपाल एउटा खुला, उदार र ट्रान्सपरेन्ट युगमा प्रवेश गर्दैछ । यहाँ उद्योग धन्दा गर्नका लागि बिचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशका लगानीकर्ताले खोजेर बसेका छन् । त्यसको सुरुवात अब छिट्टै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली श्रम शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विशेष नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अग्रवालले निजी क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमिकलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया