मसँग अब अरू आग्रह छैन, एकताको मोही अझै मथ्दै छु : केपी ओली

 साउन ६, २०७८ बुधबार २१:३९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गर्नुभएको छ ।

केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज बुधवार अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको स्पष्ट गर्नुभयो । 

सर्वोच्च अदालतको गएको असार २८ गतेको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै उहाँले नागरिकको चाहनालाई कुल्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताउनुभयो । मसँग अब अरू आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन आन्दोलन बचाउन अनुरोध गर्छु, अध्यक्ष ओलीले बैठकमा भन्नुभयो ।

पार्टीको नीति विपरीत नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आउँमी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।

आजको बैठकले संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला गरेकाले त्यस दफालाई संशोधन गर्ने पहल गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकले ओली नेतृत्वको सरकारले विविध चुनौतीका बीच विकास र समृद्धिका पक्षमा उपलब्धि हासिल गरेको र प्रतिपक्षमा रहेर संविधान, लोकतन्त्र र राष्ट्रियताका सम्बन्धमा सशक्त र प्रभावकारी काम गर्ने निर्णय गरेको छ । नेता ज्ञवालीले अहिलेको स्थितिबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै पार्टीको शक्ति पुनः फर्काइने जनाउनुभयो । अर्को बैठक बिहीबार दिउँसो ३ बजे पुनः बस्नेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया