एकै वर्ष ५० अर्बको चामल र ३८ अर्ब रुपैयाँको हरियो तरकारी विदेशबाट भित्रियो

 साउन ९, २०७८ शनिबार १६:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ ।

नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका अनि दक्षिण अफ्रिकाबाट समेत आयात भएको छ । गएको आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ भन्दा धेरैको धान/चामल मात्रै आयात भएको छ ।

भन्सार विभागका अनुसार गत वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान/चामल भारतबाट मात्रै आयात भएको छ । नेपालले चीन, अमेरिका, इन्डोनेसिया, जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात गर्दै आएको छ ।

यस्तै, गएको वर्ष मात्रै साढे १६ अर्ब रुपैयाँको मकै आयात भएको छ । नेपालले भारत, चीन देखि अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट मकै आयात गरेको छ । नेपालमा एकै वर्ष ३८ अर्ब ५० करोड रुपैयाँको हरियो तरकारी, २१ अर्ब रुपैयाँको फलफूल, साढे नौ अर्ब रुपैयाँको चिया/कफी आयात भएको छ ।

नेपालीहरु सुविधाभोगी बन्दै जाँदा सुखसयलका सामग्रीको आयात पनि बढ्दै गएको देखिएको छ । ९७ अर्ब ३७ करोड रुपैयाँका गाडी भित्रिएका छन् । ३४ अर्ब रुपैयाँ भन्दा धेरैका मोबाइल, फोन र पाटपूर्जा आयात भएको छ । यस्तै ६४ करोड ५८ लाख रुपैयाँको घडी मात्रै आयात भएको छ । समग्रमा गएको आर्थिक वर्षमा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गरेकोमा जम्मा एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको छ ।

नेपालको व्यापार घाटा एकै वर्ष १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया