धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो तीन दिने स्पष्टीकरण

 साउन १४, २०७८ बिहिबार १३:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ मार्फत जारी गर्न लागेको प्राथमिक शेयर अर्थात् आईपीओमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखका आफन्तको नाममा शेयर रहेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डका नाममा तीन दिने स्पष्टीकरण सोधेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा ११ हजार नौ सय कित्ता शेयर किनेको र नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीका नाममा १० हजार कित्ता शेयर खरिद गरेको समाचार आएको थियो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधवारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ ।

‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । ती विषयवस्तुको सम्बन्धमा यथार्थ के हो, त्यसकाे स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपस्थित गराइदिनु हुन आदेशअनुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।  

नेपाली शेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड र सञ्चालक नेप्सेका प्रमुखले नै स्वार्थ बाझिने र कानुन विपरीत शेयर खरिद गरेर राखेको भन्दै चौतर्फी आलोचना भएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया