बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा ताला लगाए

 साउन १४, २०७८ बिहिबार १६:०:५७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले बैतडीको पुर्चाैडी नगरपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल सरकारले बजेट भाषणमार्फत बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेको भए पनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरिएको हो ।

नगरपालिका र १० वटै वडा कार्यालयमा तालाबन्दी गरिएको र आफ्ना माग पूरा नहुँदासम्म ताला नखुल्ने लटिनाथ आधारभूत सलेली गाउँमा कार्यरत बाल विकास सहजकर्ता द्रोपती खत्रीले बताउनुभयो । ‘हामी लामो समयदेखि कम तलबमा काम गर्दै आइरहेका छौँ । नेपाल सरकारले बजेट भाषणमार्फत तलब बढाउने घोषणा गरेको छ तर हाम्रो नगरपालिकाले तलब बढाएको छैन । त्यसैले हामीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका हौँ’, उहाँले भन्नुभयो । 

यसअघि विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताहरूले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएको भए पनि सुनुवाइ नभएपछि तालाबन्दी गरिएको खत्रीले बताउनुभयो । 

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरूले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको भए पनि जिम्मेवार प्रतिनिधि नहुँदा छलफलसमेत हुन सकेको छैन । 

नगरपालिकाका मेयर र उपमेयर काठमाण्डौमा छन् भने कार्यालय प्रमुख पनि बाहिर रहेको बताइएको छ । नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको कुरा जानकारीमा आएको र तत्कालका लागि ताला खोल्न आग्रह गरिएको उपमेयर जानकी ऐर बमले बताउनुभयो । 

विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको मागका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने उहाँको भनाइ ५ । उहाँले भन्नुभयो, ‘नगरपालिकाले चालु आर्थिक वर्षमा दुई हजारका दरले बाल विकास सहजकर्ताको तलब बढाउने निर्णय गरेको छ । उनीहरूको माग १५ हजार पुर्याउनुपर्ने भन्ने छ । यो विषयमा छलफल गरेर टुङ्गाेमा पुगिन्छ ।

पुर्चाैडी नगरपालिकामा बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको सङ्ख्या एक सय ५१ छ ।

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बैतडीको पुर्चौडी नगरपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया