मेलम्ची खोलामा बाढी : बाहुनेपाटी बजार उच्च जोखिममा, मध्यपहाडी लोकमार्गको पुलमा क्षति

 साउन १८, २०७८ सोमबार ८:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्ति रातिदेखि मेलम्ची नदीमा आएको बाढीको वेग झन् झन् बढ्दै गएको छ ।

बाढीको वेगले नदीको दायाँबायाँ कटान गर्नुका साथै बाढी मेलम्चीको बस्तीमा नै प्रवेश गर्न थालेको छ । यसले बाहुनेपाटी बजार उच्च जोखिममा परेको छ । यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा परेको छ । यो बजार मेलम्चीको मुख्य बजार हो ।

जोखिम बढेपछि त्यहाँका डेढ सय परिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै, बाढीले मध्यपहाडी लोकमार्गको पक्की पुलमा समेत नोक्सानी गरेको छ ।

अस्ति र गएको असार १ गतेको बाढीले सडकमा क्षति पुर्याएपछि पाँचपोखरी थाङपाल गाउँपालिकासहितका क्षेत्रमा आवतजावतका लागि यो पुललाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्दै आइएको थियो । विगत दुई वर्षदेखि निर्माण सुरु भएको पुलमा पीच भइसकेकै छैन ।

यसपालिदेखि मात्रै यो पुलमा साना गाडी चलाउन अनुमति दिइएको थियो । यो पुल हुँदै अरनिको राजमार्गमा निस्किन मिल्छ । यसले दोलालघाट र चौतारा पनि जोडेको छ । तर, पुलको एकतर्फी भागमा क्षति पुगेकाले गाडी चल्न सकेका छैनन् ।

जिरोकिलो हेलम्बु सडकको सम्बन्ध विच्छेद हुनु र विकल्पको रुपमा रहेको एक मात्र बाहुनेपाटीको पुल पनि जोखिममा परेपछि इन्द्रावतीभन्दा पूर्वी क्षेत्रसँग यातायातको सम्बन्ध टुटेको मेयर अर्यालले बताउनुभयो । मध्यपहाडी लोकमार्ग अन्तर्गत मेलम्ची नगरपालिका १२ बाहुनेपाटीमा रहेको यो पुल मेलम्चीका लागि मुख्य सडक जोड्ने पुल हो ।

यसअघि अस्ति बाढीले एउटा झोलुङ्गे पुल र चनौटेमा रहेको रातो पुल पनि बगाएको थियो । रातो पुल बगाएसँगै मेलम्चीबाट हेलम्बु जाने सडक सम्पर्क टुटेको छ । असार १ गतेको बाढीले मेलम्ची क्षेत्रलाई तहसनहस बनाएको थियो ।

फाेटाे : किरण थापा उज्यालाे 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया