मनाङमा १८ वर्ष माथिका सबै नागरिकले लगाए कोरोना विरुद्धको खोप

 साउन २०, २०७८ बुधबार १२:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाङ – हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोपको दुवै मात्रा लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । अठार वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

उहाँका अनुसार जिल्लाका चार हजार एक सय ९८ जनालाई कोरोना खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताउनुभयो । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले भेरोसेलको पूर्ण खोप लगाएको आचार्यले बताउनुभयो । स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउन योग्य नागरिक छ हजार दुई सय रहेको बताएको थियो । अन्य नागरिक कामको सिलसिलामा देशविदेशमा रहेकाले खोप लगाउनेको सङ्ख्या चार हजार एक सय ९८ रहेको आचार्यले जानकारी दिनुभयो । जिल्ला बाहिर रहेकाहरु आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराउने व्यवस्था गरेको उहाँले बताउनुभयो । 

देशैभर खोपको अभाव रहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी लागेको जिल्लाका पर्यटन व्यवसायी विनोद गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार नागरिकले कोराेनाको सङ्क्रमण जोखिममा खोप लगाउन पाएकोमा सुरक्षित महसुस गरेका छन् । प्राकृतिक विपद् र विश्वव्यापी महामारीले मानवीय क्षति हुन नदिन दुर्गम जिल्ला मनाङलाई मागअनुसारको खोप उपलब्ध गराएको गण्डकीका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयाे, “प्रदेशका सबै जिल्लामा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप पुर्याउने लक्ष्य हो, तर विकट जिल्ला मनाङलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गरायौँ, अन्य जिल्लालाई पनि पूर्णरुपमा खोप उपलब्ध गराउने कसरतमा छौँ ।” 

मनाङमा बाढीपहिराको जोखिममा रहेको अवस्थामा कोरोना विरुद्धको खोप ढुवानीका लागि नेपाली सेनाले सहयोग गरेको थियो । आचार्यका अनुसारमा मनाङमा गएको माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया