‘एमाले सरकारले ल्याएर राखेकाे खाेपसमेत याे सरकारले नागरिकसम्म पुर्‍याउन सकेन’

 साउन २०, २०७८ बुधबार १८:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको आरोप लगाउनुभएको हो । उहाँले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताउनुभएको हो ।

सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राखेको कोभिड–१९ विरुद्धको खोपसमेत व्यवस्थित रूपमा नागरिकसमक्ष पुर्‍याउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘परमादेश सरकार बनेको अर्को दिनदेखि यो देशमा राजनीतिक अपराधीकरणको सुरुवात भएको छ । हाक्काहाक्की कुशासनको आरम्भ भएको छ । लोकतन्त्र भनेको विधि र पद्धतिमा चल्ने शासन व्यवस्था हो । तर आज लोकतन्त्रको नाममा विधि र पद्धतिको धज्जी उडाइएको छ । एमाले सरकारले नेपाली नागरिकलाई पुग्ने गरी खोपको प्रबन्ध गरेको थियो । चिन्ताको विषय, अरूले व्यवस्थापन गरेको खोपको पनि यो सरकारले व्यवस्थित रूपमा नागरिककाेमा पुर्‍याउन सकेन । खोप हराए । खोपमा सोर्सफोर्सको कुरा आइरहेको छ । सोर्सफोर्सले खोप लगाउन पाउने, सर्वसाधारण वञ्चित हुने अवस्था सिर्जना भएको छ ।’

सांसद भट्टराईले अदालत दलीय व्यवस्था र संसदीय परिपाटीको बर्खिलाप गएको भन्दै त्यसका विरुद्ध एमालेले वैचारिक सङ्घर्ष जारी राख्ने पनि बताउनुभयो । उहाँले अहिले लोकतन्त्रले हारेको र लोकतन्त्रले हार्दा सबै नेताले हार्ने पनि उल्लेख गर्नुभयो । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण भएको भन्दै उहाँले त्यसलाई स्वीकार्न नसक्ने बताउनुभयो । 

उहाँले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले खुट्टा कमाएको पनि बताउनुभयो । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग संवाद गर्नुपर्ने अथवा राजदूतलाई बोलाएर यस सम्बन्धमा संवाद गर्नुपर्ने उहाँले बताउनुभयो । यस प्रकरणमा सरकारले केही गर्न नसकेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘यो मानवताविरोधी जघन्य अपराध हो । नेपालीहरूका लागि यो असाध्यै दुःखद र पीडादायी घटना पनि हो । परमादेश सरकारले खुट्टा किन कमाएको हो ? भारतीय एसएसबीका जवानले तुइनको तार काटेर जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन् । देखि जान्ने साक्षीहरूले यो कुरा भनिरहेका छन् । बुझ्न बाँकी के छ ? यो मानवतासँग जोडिएको र राष्ट्रियतासँग पनि सम्बन्ध राख्ने घटना हो । भारतीय पक्षको हेपाहा र मिचाहा प्रवृत्ति पनि हो । यस्तो घटनामा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले भारतीय समकक्षीसँग संवाद गर्नुपर्ने होइन र ? राजदूतलाई बोलाएर संवाद गर्नुपर्ने होइन र ? तार काटेर घटना घटाउने एसएसबीका जवानलाई तत्काल कारबाही गराउनुपर्ने होइन र ? बेपत्ता जयसिंहको परिवारलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने होइन ? तर परमादेश सरकार सुनसान छ । केही गर्न सकिराखेको छैन ।’

वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर गरिब र निमुखाको विरुद्धमा लागेको उहाँले बताउनुभयो । सरकारले संसदलाई बिजनेस दिन नसकेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया