पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रवारको बैठकमा उहाँले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउन लागेको जानकारी पनि गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाइ छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’
राज्यमन्त्री श्रेष्ठले जन स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाइ बनाउन लागेको बताउनुभयो । उहाँले सार्वजनिक महत्त्वको संस्थाहरूलाई जथाभाबी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने आवश्यक्ता औँल्याउँदै त्यसतर्फ सहयोग गर्न आग्रह गर्नुभयो ।
बैठकमा समितिका सदस्यहरूले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यनाकर्षण गराउनुभयो । उहाँले भ्रष्टहरूले स्वास्थ्य सेवा दिने संस्थाहरूमा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकुलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले समग्र प्रतिष्ठानमा भएका बेथितिको अन्त्यका लागि सरकारले विस्तृत ढङ्गले छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न आग्रह गर्नुभयो ।
बैठकमा समितिका सदस्यहरूले सार्वजनिक सेवा प्रवाहको क्षेत्रलाई चुस्त दुरुस्त बनाउन सरकारलाई सचेत गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।