जलवायु परिवर्तन : आईपीसीसीकाे प्रतिवेदन भन्छ– 'मानव जीवनका लागि खतराको सङ्केत'

 साउन २५, २०७८ सोमबार १९:३६:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले ग्लोबल वार्मिङ (विश्वव्यापी तापमान) बढिरहेको र यसका लागि स्पष्ट रूपमा मानव जाति नै जिम्मेवार भएको बताएको छ । इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले पृथ्वीको औसत तापमान सन् २०३० सम्म एक दशमलव पाँच डिग्री सेल्सियससम्म बढ्ने आफ्नो प्रतिवेदनमा भनेको छ ।

बढ्दो तापमानबाट विश्वभरमा मौसमसँग जोडिएका ठूलो आपत् आउने प्रतिवेदनमा भनिएको छ । विश्वले पहिलेदेखि नै हिउँ पग्लिने, समुद्रको बढ्दो स्तर र बढ्दो अम्लीकरणमा अपरिवर्तनीय परिवर्तनको अनुभव गरिरहेको छ । 

प्यानलको नेतृत्व गरिरहनुभएकी वेलेरी मेसन डेलोमोटले केही परिवर्तन सयौँ या हजारौँ वर्षसम्म भइरहने बताउनुभयो, त्यसलाई केवल उत्सर्जनमा कमीबाट नै मत्थर गर्न सकिन्छ । 

वायुमण्डलको तापमान बढाउने ग्यासको उत्सर्जन जसरी भइरहेको छ, त्यही कारण मात्र दुई दशकमा तापमानको सीमा टुटिसकेको प्रतिवेदनमा भनिएको छ । 

अहिलेकै अवस्था रहिरहे यस शताब्दीको अन्त्यसम्म समुद्रको जलस्तर झन्डै दुई मिटरसम्म बढ्न सक्ने यस अध्ययनसँग जोडिएका शोधकर्ताहरूले अनुमान गरेका छन् । यद्यपि ग्रीनहाउस ग्यासको उत्सर्जनमा ठूलो मात्रामा कटौती गरेर बढ्दो तापमानलाई स्थिर गर्न सकिने आशा रहेको प्रतिवेदनमा भनिएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले आईपीसीसी वर्किङ ग्रुपको पहिलो प्रतिवेदन 'मानवताका लागि खतराको सङ्केत' भएको बताउनुभएको छ । सबै मिलेर जलवायु प्रकोपलाई टार्न सकिने र यसमा कुनै बहाना बनाउन नहुने महासचिव गुटेरसको भनाइ छ ।

साथै उहाँले विभिन्न देशका नेता र सरोकारवालाहरूलाई आउँदो जलवायु सम्मेलन सफल बनाउन अपिल गर्नुभएको छ ।

आईपीसीसी संयुक्त राष्ट्र सङ्घको एक संस्था हो जसलाई जलवायु परिवर्तनको विज्ञानलाई आकलन गर्नका लागि सन् १९८८ मा स्थापना गरिएको थियो । आईपीसीसीले सरकारलाई विश्वव्यापी तापमान बढ्नुको वैज्ञानिक जानकारी प्रदान गर्दै आएको छ ।  

यस प्रतिवेदनलाई संयुक्त राष्ट्र सङ्घको इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले तयार गरेको हो जसले १४ हजार भन्दा धेरै वैज्ञानिक कागजातको अध्ययन गरेको छ । 
आउँदा दशकमा जलवायु परिवर्तनले विश्वलाई कसरी परिवर्तन गर्नेछ भन्ने विषयमा हो अहिलेको सबैभन्दा ताजा प्रतिवेदन हो । 

वैज्ञानिकहरूले यसलाई निकै ठूलो खबर भनेका छन् तर यो ‘आशाको एउटा सानो टुक्रा हो ।’

पर्यावरण विशेषज्ञहरूले सरकारलाई उत्सर्जन कटौती गर्न प्रेरित गर्नका लागि यो प्रतिवेदन ‘ठूलोस्तरमा चेतावनी दिने खालको’ भएको बताएका छन् । 

जलवायु परिवर्तनको विज्ञानमा आईपीसीसीले पछिल्लो पटक सन् २०१३ मा अध्ययन गरेको थियो र त्यसपछि आफूहरूले धेरै कुरा सिकेको वैज्ञानिकहरूले बताउँदै आएका छन् । 

गएको वर्ष विश्वभर तापमान, जङ्गलमा आगलागी र विनाशकारी बाढीको घटना निकै ठूलो सङ्ख्यामा भएको देखिएको थियो । मानवका कारण भएको परिवर्तनले असावधानीपूर्ण तरिकाबाट पर्यावरणलाई हजारौँ वर्षसम्म पनि फेरि परिवर्तन गर्न नसकिने प्यानलका केही प्रतिवेदनमा भनिएको छ । 

आईपीसीसीको यस प्रतिवेदनको चर्चा नोभेम्बरमा बेलायतमा हुने संयुक्त राष्ट्र सङ्घको जलवायु सम्मेलन मा पनि हुनेछ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया