‘श्वेत पत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर छ, अघिल्लाे सरकारले भन्दा राम्राे बजेट ल्याएर देखाउनुस्’

 साउन २८, २०७८ बिहिबार १७:२७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेता तथा पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेत पत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको विशेष समयमा उहाँले श्वेत पत्र अघिल्लो सरकारको आलोचनाको रूपमा आएकाले यसमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको बताउनुभएको हो । उहाँले  अघिल्लो सरकारको अवधि स्वभावैले, आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्त्वपूर्ण अवधि भएको बताउनुभयो । 

नेता पाैडेलले २०७६/०७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र दुई प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताउनुभयो । उहाँले कोभिड अवधिको तथ्याङ्कको सहारा लिएर २०७५/०७६ को आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्त्वपूर्ण अवधि थियो भन्ने दृष्टिकोणले खण्डन गर्न सक्दैन भन्ने मलाइ लाग्छ, तर तथ्य एकातिर छ, निस्कर्ष अर्कोतिर प्रस्तुत गरिएको पनि सँगसँगै हामीले देख्न सक्छौँ र कोभिड महामारीले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रलाई पनि गम्भीर र नकारात्मक रूपमा असर पारेको याथार्थलाई बेवास्ता गर्दै २०७६/०७७ मा दुई प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएको उल्लेख गरिएको छ, जबकि यो अवधिमा विश्व अर्थतन्त्र नै झन्डै तीन दशमलव पाँच प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको थियो, कोभिड अवधिको तथ्याङ्कको सहारा लिएर २०७५/०७६ मा झन्डै सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको यथार्थलाई भने छोप्न खोजिएको छ ।’ 

उहाँले स्वदेश वा विदेशबाट लिइएको सार्वजनिक ऋण चालु खर्चमा लगाउन नपाउने कानुनी व्यवस्था गरेको बताउँदै राजस्वले चालु खर्च धान्ने र विकासका लागि ऋण लिनुपर्ने विशिष्ट अवस्थामा देश रहेको बताउनुभयो । नेता पाैडेलले ऋण नलिने विकास नगर्ने नभएर ऋण लिने र विकास पनि गर्ने बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार भए पनि जानकारी पत्रको तथ्य र निष्कर्ष भने परस्परमा विरोधाभास भएको बताउनुभयो । तथ्यले अघिल्लो सरकारले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बताइएको भन्दै उहाँले अघिल्लो सरकारले भन्दा लोकप्रिय बजेट प्रस्तुत गर्न चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार भए पनि जानकारी पत्रको तथ्य र निष्कर्ष भने परस्परमा विरोधाभास छ, तथ्यले अघिल्लो सरकारले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको देखाएको छ, तथ्यले जे निष्कर्ष प्रस्तुत गर्छ त्यो निष्कर्षलाई स्वीकारेर अगाडि बढ्नु सबैको जिम्मेवारी हो, विशेष गरी सरकारको त अझै महत्त्वपूर्ण जिम्मेवारी हो । आर्थिक अवस्थाको जानकारी पत्रले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको खारेज गर्ने र प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताएको छ, ठिक छ त, ल्याउनुस् अर्को बजेट, त्यसका लागि अघिल्लो सरकारलाई दोषारोपण गर्नैपर्ने हुन्छ र ? प्रतिस्थापन विधेयक ल्याउनु थियो भने आर्थिक वर्ष २०७८/०७९ को आय र व्ययकाे अनुमान अध्यादेश प्रतिनिधि सभामार्फत प्रस्तुत गरेको किन, सदनको समय बर्बाद गरेको किन ?’ 

उहाँले अघिल्लो सरकारले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको स्मरण गराउँदै त्यो भन्दा राम्रो बजेट ल्याएर देखाउन चुनौती दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया