छाेरीकाे शेयर काराेबारमा मलाई मुछ्न मिल्दैन : धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना

 साउन ३१, २०७८ आइतबार १८:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छोरीमार्फत गरेको सर्वोत्तम सिमेन्टको शेयर कारोबारको बोर्डले बचाउ गरेको छ । आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको शेयर कारोबारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टीकरण दिनुभएको हो ।

बैठकमा समितिका सदस्यहरूले परिवारका सदस्यलाई शेयर कारोबारमा संलग्न गराएर शेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्रोश व्यक्त गरेका थिए । बोर्डको तर्फबाट त्यसको जवाफ दिने क्रममा उपकार्यकारी निर्देशक अधिकारीले विवाहित छोरी परिवारभित्र पर्ने व्यवस्था धितोपत्रसम्बन्धी कुनै पनि ऐनमा व्यवस्था नभएकाले अध्यक्ष ढुंगानालाई त्यस विषयमा विवादमा तान्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धितोपत्रसम्बन्धी ऐनमा परिवार भन्नाले विवाहित छोरी नपर्ने स्पष्ट उल्लेख गरिएको छ र विवाहित छोरीले शेयर खरिद/बिक्री गर्ने निजी अधिकार भएकाले त्यसमा उनको बुबाको संलग्नता नहुने स्पष्ट देखिएको छ । हामीले अर्थ मन्त्रालयलाई पनि यही प्रावधान खुलाएर स्पष्टीकरण दिएका छौँ ।’

सर्वोत्तम सिमेन्टको शेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर शेयर जारीकाे अनुमति पाउनु भन्दा झन्डै तीन हप्ता अघि कानुन विपरीत छोरीको नाममा १० हजार कित्ता शेयर खरिद गरेको आरोप लागेको थियो । त्यही विषयमा अर्थ समितिले बोर्डका पदाधिकारीलाई बोलाएर स्पष्टीकरण लिएको हो । 

बैठकमा बोल्दै समितिका सभापति कृष्णप्रसाद दाहालले परिवारका सदस्यलाई पुँजी बजारमा ल्याउने काम नियमनकारी निकाय आफैँले गरेको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले अन्य क्षेत्रमा लगानी नगरेर परिवारकै सदस्य भएको क्षेत्रमा लगानी बढाउनुको कारण के हो ? भनी बोर्डका सदस्यहरूलाई प्रश्न पनि गर्नुभयो ।

बोर्डका अध्यक्ष ढुंगानाले भने विवादित छोरीको शेयर कारोबारलाई बन्देज लगाउन मिल्ने कानुनी प्रबन्ध नभएको जवाफ दिनुभयो । उहाँले विवाहित छोरी परिवारका सदस्य नरहने धितोपत्रसम्बन्धी ऐनमा स्पष्ट व्यवस्था भएकाले छोरीको शेयर कारोबारमा आफूलाई मुछ्न नमिल्ने तर्कसमेत गर्नुभयो ।

समितिका सदस्यहरूले परिवारलाई सेयर बाँडफाँड गरेर गलत काम नगर्न बोर्डका पदाधिकारीलाई सचेत गराएका थिए । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया