मैले पनि त शेयरमा आफ्नो लगानी गर्न पाउनु पर्‍याे नि ! : नेप्सेका सीईओ साउद

 साउन ३२, २०७८ सोमबार १५:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले आफूलाई कुनै पनि कम्पनीको ओटीसी शेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टीकरण दिनुभएको छ । 

आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरूले नियामक निकाय नेप्सेका प्रमुख आफैँले किन गैरजिम्मेवार ढङ्गले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा संलग्न भएको भनी प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत साउदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटीसी शेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको जवाफ दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो सञ्चालक समितिको आचारसंहिताले रेगुलेटर सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत शेयर किन्न कुनै बाधा पर्ने छैन भनेकाे छ । यही व्यवस्था हाम्रो ऐनमा पनि लेखिएको छ । त्यही प्रावधान अन्तर्गत यो शेयर कारोबार गरिएको हो । नियम मिचेर यो काम गरिएको होइन । म पनि त नागरिक हुँ नि । मैले पनि त आफ्नो लगानी गर्न पाउनु पर्‍याे नि !’

प्रमुख कार्यकारी अधिकृत साउदले विभिन्न सञ्चारमाध्यमले शेयर कारोबारसम्बन्धी विद्यमान ऐन, कानुनको व्यवस्था नबुझी सर्वोच्च सिमेन्टको ओटीसी शेयर नियामक निकाय आफैँले खरिद गरेको भनेर झुटा समाचार सम्प्रेषण गरेको दाबीसमेत गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरूले शेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा गराउँदै नेप्से जस्ता नियामक निकाय आफैँले नैतिक प्रश्न खडा हुने गरी ओटीसी शेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए । 

समिति रामकुमारी झाँक्रीले शेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक–पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेका पदाधिकारीमाथि आक्रोश व्यक्त गर्नुभयो । उहाँले आफैँमाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानबिन गरेर दोषीमाथि कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।

समितिकी अर्का सदस्य निरादेवी जैरुले शेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्से लगायतका नियामक निकायलाई सचेत गराउनुभयो । उहाँले नेप्सेजस्ता संस्थालाई नीति र विधि अनुसार चलेर शेयर बजारलाई स्वस्थ ढङ्गले अघि बढाउन आग्रह गर्नुभयो ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियामक निकाय आफैँले शेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानुनी व्यवस्था गर्ने चेतावनी दिनुभयो । उहाँले रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भए पनि शेयर बजारमा त्यो नियम उल्लङ्घन गर्ने काम गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया