सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

 भदौ १, २०७८ मंगलबार ९:०:१६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीसहित सुदूरपश्चिमका जिल्लामा आज ओल्के र बुढी हाल्ने पर्व मनाइँदै छ । यो पर्व भारतको कुमाउ र गडवालमा समेत मनाउने गरिन्छ । 

आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल, मीठो–मसिनो खुवाएर याे पर्व मनाइने गरिन्छ । यस्तै यस पर्वमा महिलाहरुले हातमा मेहन्दी लगाउने गर्छन् । 

आजकाे दिन बिहानै नुहाएर कृषिसँग सम्बन्धित औजार, फलफूल र मिठाइ बनाएर आफन्तलाई ओल्को अर्थात उपहारस्वरुप दिने चलन रहेकाे दशरथचन्द नगरपालिका-१ का देवदत्त भट्टले बताउनुभयो । 

वर्षात् पछिको सङ्कटबाट छुटकारा पाएको र नवजीवन प्राप्त भएको खुसियालीमा सुदूरपश्चिममा ओल्को पर्व मनाउने प्रचलन रहेको पण्डित विष्णु पन्तले बताउनुभयो । कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभइ याे पर्व यस भेगका बासिन्दाहरुको मौलिक पर्वको रुपमा स्थापित भएको पन्तले जानकारी दिनुभयो । 

पछिल्लो समय यस्ता पर्वहरुमा नयाँ पुस्ताले ध्यान नदिँदा लोप हुने अवस्था रहेकाे सुर्नया-६ का ८५ वर्षीया काशीदत्त अवस्थीले बताउनुभयो ।

ओल्के सङ्क्रान्तिका दिन गाउँबस्ती नजिकका डाँडा वा दोबाटोमा गाउँका सबै जना मिलेर काँचो रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइ सजाउने गरिन्छ ।

स्थानीय भाषामा थुप्रोलाई ‘बुढी हालेको’ भन्ने गरिएको दोगडाकेदार-१ का गोकर्ण जोशीले बताउनुभयो । यो थुप्राेलाई असोज सङ्क्रान्तिका दिन साँझ गाउँका सबै जना मिलेर पोल्ने चलन रहेकाे छ ।

यस्ता पर्वले पर्यटनमा टेवा पुग्ने भएकाले स्थानीय सरकारले संरक्षण र सम्वर्द्धनमा विशेष पहल गर्नुपर्ने स्थानीयकाे माग छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया