अफगानिस्तान : तालिबान कति धनी छ ? कहाँबाट आउँछ पैसा ?

 भदौ १३, २०७८ आइतबार १४:५८:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – यही महिना तालिबानले पूरै अफगानिस्तान आफ्नाे कब्जामा लियाे । । आउँदो केही दिनमा अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी देशका सेना अफगानिस्तान छाडेर जाँदैछन् । यही कारण गएको दुई दशकदेखि दुई पक्षबीच चलिरहेको सङ्घर्ष सायद रोकिनेछ ।   

तालिबानका लागि गठबन्धन सेनासँगको सङ्घर्ष निकै कठिन रह्यो । एकातर्फ उसको सामु विश्वका धनी देशका सेना थिए, जोसँग न पैसाको कमी थियो र न आधुनिक हतियारको नै । त्यस्तै अर्काेतर्फ तालिबानको स्थिति यी दुई मामिलामा ती देशको तुलनामा कुनै खास थिएन । 

यद्यपि एक अनुमानका अनुसार सन् २०११ म तालिबानी लडाकुको सङ्ख्या ३० हजार थियो । सन् २०२१ को मध्यमा उसका लडाकुको सङ्ख्या बढेर ७० हजारदेखि एक लाखको बीच भयो । 

यस्तोमा यति ठूलो सङ्गठन र अतिवादी अभियान चलाउनका लागि आर्थिक सहयोगको आवश्यकता त हुन्छ नै । तालिबानलाई आर्थिक सहयोग कहाँबाट मिल्थ्यो भन्ने प्रश्न पनि उठ्छ । र यो सहयोग देशभित्रबाटै हुन्छ या बाहिरबाट भन्ने प्रश्न पनि उठ्छ ?

कति धनी छ तालिबान ?

तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर तालिबानको आयको बारेमा कुनै विश्वस्त र यथार्थ जानकारी सर्वसाधारणलाई छैन । धनको स्रोतको बारेमा थाहा पाउनु अनुमान लगाउनु जस्तै छ । 

यद्यपि बीबीसीले अफगानिस्तानभित्र र बाहिरका विभिन्न व्यक्तिसँग कुराकानी गरेर धेरै सूचना जुटाएको छ । जसका कारण तालिबानको आर्थिक ढाँचा निकै जटिल भएको पत्ता लाग्यो । 

सन् २०११ म तालिबानको वार्षिक आय झन्डै चार सय मिलियन डलर (४७ अर्ब नेपाली रुपैयाँ बराबर) थियो । तर सन् २०१८ को अन्त्यसम्म यो आँकडा बढेर एक दशमलव पाँच बिलियन अमेरिकी डलर (एक खर्ब ७७ अर्ब नेपाली रुपैयाँ बराबर) भएको बीबीसीले जाँचका क्रममा पायो । अब केही दिनमा तालिबान अफगानिस्तानको सरकार सञ्चालन गर्न गइरहेको छ । यस्तो उसको आय स्रोत निकै बढ्ने मानिएको छ । 

तालिबानको आम्दानीको मुख्य चार स्रोत

तालिबानको आम्दानीको मुख्य माध्यम अफिम र त्यसबाट बन्ने नशालु पदार्थ हेरोइन हो भन्ने आम धारणा छ । तर जानकारहरूका अनुसार यो कुरा पूर्णरूपमा सही होइन । 

अफिमका साथै तालिबानको आम्दानी उसको कब्जामा रहेको क्षेत्रमा लगाइने विभिन्न प्रकारका करमार्फत हुने गरेको जानकारहरू बताउँछन् । साथै विदेशबाट प्राप्त हुने चन्दा र खनिज पदार्थको कारोबार पनि उसको आम्दानीको माध्यम हो । 

वास्तवमा तालिबानको आयको प्रमुख चार स्रोत छन् । 

१. विदेशबाट प्राप्त हुने चन्दा 

पूर्व अफगान सरकार र अमेरिकी अधिकारीहरूले पाकिस्तान, इरान, रुस, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतारसहित खाडीका कैयौँ देशले लामो समयदेखि तालिबानलाई सहयोग गरिरहेका आरोप लगाइरहेका छन् । तालिबानसँग उनीहरूको यो सम्बन्ध लामो समयदेखि रहेको छ । यद्यपि यी देशले यस कुरालाई कहिल्यै स्वीकार गरेका छैनन् । 

यस्तै पाकिस्तानसहित साउदी अरब, यूएई, कतारजस्ता खाडी देशका नागरिकले व्यक्तिगत रूपमा तालिबानलाई सहयोग गरिरहेका मानिँदै आएको छ ।   

तालिबानलाई विदेशबाट प्राप्त हुने सहयोगको सही तथ्याङ्क थाहा पाउन त असम्भव छ तर जानकारहरूका अनुसार उसले हरेक वर्ष झन्डै ५० करोड डलर सहयोग प्राप्त गर्दै आइरहेको छ । 

यसअघि अमेरिकाको गोप्य रिपोर्टमा तालिबानले सन् २००८ मा विदेश विशेष गरी खाडी देशबाट १०६ मिलियन डलर प्राप्त गरेको अनुमान गरिएको थियो । 

२. नशालु औषधिको कारोबार

तालिबानले लामो समयदेखि अफिम, हेरोइन र नशालु औषधिको अवैध कारोबार गर्दै आएको मानिन्छ । 

स्मरण रहोस्, अफगानिस्तान विश्वको सबैभन्दा ठूलो अफिम र हेरोइन उत्पादक हो । हेरोइन अफिमबाट तयार हुन्छ । एक अनुमानका अनुसार अफगानिस्तानबाट प्रत्येक वर्ष १ दशमलव ५ देखि ३ अर्ब अमेरिकी डलर बराबरको अफिम अरू देशमा पठाइन्छ । 

अफगानी अधिकारीहरूका अनुसार तालिबानले किसानलाई अफिमको खेती गर्न लगाउँछ र उनीहरूबाट त्यसबापत १० प्रतिशत कर पनि लिने गर्दछ । यसका साथै हेरोइन बनाउने प्रयोगशालाबाट पनि कर असुल्ने गर्दछ । यी सबैबाट तालिबानले हरेक वर्ष १०० देखि ४०० मिलियन डलर आम्दानी गरिरहेको अनुमान गरिन्छ । 

सन् २०१८ मा अमेरिकी कमान्डर जनरल जोन निकोलसनले एक रिपोर्टमा तालिबानको आयको ६० प्रतिशत हिस्सा अवैध लागुपदार्थको धन्दाबाट आउने बताएका थिए । यद्यपि यस अनुमानलाई धेरै जानकारले ‘यो त धेरै नै भयो’ भनेर खारेज गर्दै आइरहेका छन् । 

३. विभिन्न क्षेत्रमा कब्जा जमाउनु

तालिबानले अफिम खेती र त्यसको बिक्रीबाट मात्र आम्दानी गर्दैन । यसको प्रमाण सन् २०१८ मा अफगान कारोबारीका नाममा लेखिएको खुला पत्र छ, जसमा तालिबानले उनीहरूलाई तेल, निर्माण सामग्रीसहित धेरै उत्पादनको कर चुकाउन भनेको थियो । जुन क्षेत्रमा तालिबानको प्रभाव छ, त्यहाँ उसले मानिससँग विभिन्न प्रकारका कर असुलेको छ । पछिल्लो दुई दशकमा पश्चिमी देशका राम्रा धन पनि नचाहँदा नचाहँदै तालिबानको खल्तीमा पुगेको छ । 

सबैभन्दा पहिला, पछिल्लो दुई दशकमा विश्वका धेरै देशको सहयोगमा अफगानिस्तानमा सडक, विद्यालय, अस्पताल आदि बनाइयो । तर तालिबानले यी सबै परियोजनाका लागि आउने–जाने गाडीबाट पैसा लिए । 

पश्चिमी देशलाई सामग्री निर्यात गर्ने ट्रकमार्फत तालिबानले हरेक वर्ष करोडौँ डलर आम्दानी गरेको पनि अनुमान छ । तालिबानले योसँगै अफगान सरकारद्वारा आम नागरिकलाई दिइएका सेवाबाट पनि निकै आम्दानी गर्‍याे । 

अफगानिस्तानको विद्युत् कम्पनीका अध्यक्षले बिजुलीको प्रयोग गर्नेसँग तालिबानले पैसा असुल्ने गरेको सन् २०१८ मा बीबीसीलाई बताएका थिए । यसबाट तालिबानले हरेक वर्ष दुई मिलियन डलर आम्दानी गरेको उनको अनुमान थियो । 

तालिबानले कुनै क्षेत्रमा कब्जा गरेपछि त्यहाँबाट यसले पैसाका साथ सामान, गाडी, हतियार आदि प्राप्त गर्छ । लगातार लडाइँमा जुटिरहने सङ्गठनका लागि आयको यो स्रोत पनि महत्त्वपूर्ण हुन्छ । 

४. खानी र खनिज

खनिज र बहुमूल्य पत्थरको मामिलामा अफगानिस्तान निकै धनी छ । दशकौँदेखि लडाइँ भइरहँदा अझै यिनको पर्याप्त दोहन हुन सकेको छैन । अफगानका पूर्वअधिकारीहरूका अनुसार अहिले त्यहाँको उत्खनन उद्योग एक अर्ब डलर हाराहारीकाे छ । 

अफगानिस्तानका धेरैजसो उत्खनन साना स्तरका छन् र धेरैजसो अवैध ढङ्गले हुँदै आइरहेका छन् । तालिबानले यसमाथि नियन्त्रण लिँदै वैध र अवैध दुवै प्रकारका उत्खननबाट धेरै कमाइ गरेको छ । 

सन् २०१४ मा यूएनको एक रिपोर्टमा तालिबानले हेलमन्द प्रान्तमा २५ देखि ३० अवैध उत्खनन परियोजनाबाट प्रत्येक वर्ष एक करोड रुपैयाँभन्दा धेरै कमाएको थियो ।    

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया