अमेरिकाले अफगानिस्तानमा रहेका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने

 भदौ १४, २०७८ सोमबार ७:४६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानमा रहेका इस्लामिक स्टेट आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने बताएको छ । काबुल विमानस्थलमा भएको आक्रमण पछि त्यहाँका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने अमेरिकाले जनाएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले आईएसलाई परास्त गर्न दोस्रो अभियान सुरु गर्ने पनि बताउनु  भएको छ । काबुल विमानस्थलमा हिजो फेरि विस्फोट भएको थियो ।  तर, त्यसअघि अमेरिकाले विस्फोटक सामग्री लोड गरिएको गाडीलाई निसाना बनाएर ड्रोन आक्रमण गरेको थियो ।

काबुल विमानस्थलमा आक्रमणका लागि लगिँदै गरिएको विस्फोटक सामग्री नष्ट गर्न र आत्मरक्षाका लागि आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ । यसले आईएसबाट हुने सम्भावित आक्रमण टरेको पनि अमेरिकाले जनाएको  छ ।

काबुल विमानस्थलमा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जाने गरी केही दिन अघि भएको आक्रमण पछि अमेरिकाले आईएस विरुद्ध गरेको यो दोस्रो आक्रमण हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आक्रमण गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताउनु भएको थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया