अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता, २० वर्षे कारबाही अन्त्य

 भदौ १५, २०७८ मंगलबार १४:१६:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

काठमाण्डाै – अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएका छन् । योसँगै अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिसन पनि अन्त्य भएको छ । काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएका बीबीसीले जनाएको छ । 

अमेरिकाले पछिल्ला केही हप्तामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको सेना फिर्ती अभियानको सुपरीवेक्षण गर्नुभएका जनरल फ्रयाङ्क मकेन्जीले बताउनुभएको छ । गएको अगस्ट १४ मा तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकालगायतका देशले आज अगस्ट ३१ सम्मको समय पाएका थिए ।

अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जनरल मकेन्जीले काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेसँगै सैन्य उद्धारका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको बताउनुभयो । यो मिसन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीट टावरमा इस्लामिक आतङ्कवादी सङ्गठन अल–कायदाले आक्रमण गरेलगत्तै सुरु भएको थियो, जसअन्तर्गत ओसामा बिन लादेन तथा उनका थुप्रै अल–कायदा षड्यन्त्रकारीहरूमाथि आक्रमण भएको थियो ।

अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीको ज्यान गएको प्रमुख जनरल मकेन्जीले बताउनुभयो । 

यस्तै अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानले काबुलमा राति आकाशमा रातो प्रकाश छर्नुका साथै मसिन गनबाट गोली चलाएर हर्षोल्लास गरेका थिए । 

अन्तिम अमेरिकी फौज फर्किएपछि प्रतिक्रिया दिँदै तालिबानका एक प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका बीबीसीले जनाएको छ ।

सेना फर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय सहयोग र अफगानिस्तान छाड्न चाहनेहरूको आवतजावतको सुनिश्चितताका लागि तालिबानहरूसँग कुटनीतिक तहबाट वार्ता गरिरहने बताउनुभएको छ । अमेरिकी सेना फर्किए पनि यसअघि सन् १९९० को दशकमा अफगानिस्तानमा शासन गर्दा तालिबानले दिएको सास्ती फेरि दोहोरिने डर अफगानी नागरिकहरूमा कायमै रहेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया