अस्पताल सुधारकलाई बिचौलियाको धम्की, ‘केन्द्रदेखि प्रदेश सरकारसम्म पुगेर सरुवा गराइ छाड्छौँ’

 भदौ १७, २०७८ बिहीबार १७:४२:५२ | रासस
unn.prixa.net

भक्तपुर – बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवाको धम्की दिन थालेको पाइएको छ ।

बिरामीको उपचार,ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवम् कर्मचारीलाई कारबाही गरिएकाले बिचौलियासहित गिरोहले उहाँहरूलाई नै  सरुवा गर्न शक्ति केन्द्र धाउन थालेका हुन् ।

मेसु डा. गौतमले  भन्नुभयो, ‘म आएदेखि यहाँको बेथिति सुधार्न लागेको लाग्यै छु, यस्तो कोभिडको जोखिममा आफैँ बिरामी हुँदासमेत यहाँका चिकित्सक र कर्मचारी अहोरात्र खटिएका छन्, यति हुँदाहुँदै पनि केही चिकित्सक र कर्मचारीले आउने बिरामीलाई सिधै बाहिर पठाउने गरेको पुष्टि भएकाले कारबाही गरिएको हो ।’

प्याम्परदेखि कोभिडका बिरामीसमेतलाई बाहिर पठाइएको रेकर्ड आएकाले त्यस्ता चिकित्सकलाई सरुवा गरिएको, केहीलाई स्पष्टीकरण सोधेर सचेत गराइएको उहाँले जानकारी दिनुभयो । 

अस्पतालमै हुने उपचारसमेत यहाँ हुँदैन भन्दै निजी अस्पताल तथा क्लिनिकमा पठाउने गरेको, आफ्नै अस्पतालमा भएका सबै ल्याब परीक्षण यहाँ हुँदैन भनेर बाहिरका प्याथोलोजीमा पठाउने गरेको र अस्पतालको आफ्नै फार्मेसीमा १० प्रतिशत छुटमा पाइने औषधिसमेत बाहिर किन्न पठाउने गरेको प्रमाणित भएपछि कारबाही गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मेसु डा. गौतमले भन्नुभयो, ‘अस्पतालको फार्मेसीमा औषधिमा १० प्रतिशत र शल्यक्रियाका सामानमा ३० देखि ३५ प्रतिशतसम्म छुट दिने गरिएको छ । कुनै पनि ल्याब परीक्षणका लागि बाहिर जानै पर्दैन, अस्पतालमै छ, यहाँ नभए सँगैको मानव अङ्ग र भक्तपुर क्यान्सर अस्पतालको ल्याबमा पठाउने व्यवस्था गरेका छौँ, यति हुँदाहुँदै पनि बिरामीलाई कमिसनका लागि बाहिर पठाउने काम भित्रैबाट भएको पाइएपछि कारबाही गरेका हौँ, यसले इमानदार चिकित्सक र कर्मचारीको  मनोबल बढाएको छ ।’

अस्पतालकै एक कर्मचारीलाई चिकित्सकले यहीँ ल्याब सेवा हुँदाहुँदै परीक्षणका लागि सान प्याथालोजीमा पठाएको र अस्पतालको भन्दा तीन गुणा महँगाे शुल्क लिएकाले प्रतिवाद गर्दा त्यहाँका सञ्चालकले चिकित्सकलाई नै कमिसन दिनुपर्ने बताएपछि यो रहस्य बाहिर आएको ती कर्मचारीले बताए । उपचारका लागि आएका कोभिडका बिरामीलाई समेत बिचौलियाले छाडेनन् । 

उपचाररत  बिरामीका आफन्त सन्तोष श्रेष्ठले भन्नुभयो, ‘बुबालाई कोभिड भएर ल्याउनेबित्तिकै भर्ना नगरि विभिन्न परीक्षण गर्न अस्पताल अगाडिको प्याथाेलोजीमा पठाए, त्यहाँ महँगाे रहेछ, अर्को दिन अस्पतालमै भर्ना भएपछि पो अर्का चिकित्सकले सबै यहीँ परीक्षण हुन्छ भनेपछि हामी छक्क पर्‍याैँ ।’

बेथिति हटाउँदै सेवामा सुधार आएपछि अस्पताल सुदृढीकरण मूल्याङ्कनमा ३८ बाट बढेर यस वर्ष ८२ मा पुग्नाका साथै वाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल बनेर पुरस्कार पाएको अस्पताललाई अब फेरि बदनाम हुनबाट जोगाउन र व्यवस्थित रूपले सेवा दिन अस्पताल अहोरात्र लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो ।

अस्पतालको फार्मेसीमा कार्यरत एक कर्मचारीले आफ्नै अगाडि बाहिरका औषधि पसलमा पठाएपछि त्यसो नगर्न भन्दा गाली खानुपरेको सुनाउनुभयो । ती कर्मचारीले भन्नुभयो, ‘अस्पतालको फार्मेसीमा ५० रुपैयाँमा पाइने थर्माेमिटर बाहिर २५० रुपैयाँसम्म पर्छ, यहाँ ३० रुपैयाँको युरिन ब्यागलाई बाहिर १०० रुपैयाँ लिन्छन्, टाँका लगाउने सुचर ३५० देखि ४५० रुपैयाँसम्म पर्नेमा  बाहिर एक हजार १०० रुपैयाँसम्म लिने गरेका छन्, यतिसम्म कि एक हजार १०० रुपैयाँ पर्ने शव परीक्षणका लागि आवश्यक सामानको प्याक बाहिर दुई हजार ७०० रुपैयाँदेखि तीन हजार ७०० रुपैयाँसम्म लिने गरेका छन्, हामीले यहीँ पाइन्छ, बाहिर नपठाउनुस् भन्दा हामीलाई नै थर्काउँथे ।’

विगतमा कमिसन बढी आउने र नचल्ने औषधिको बोलपत्र बढी गरेर औषधि नै खेर फाल्ने, औषधि सप्लायर्सले ल्याएको भन्दा बढी बिल बनाएर भुक्तानी लाने गरेकोजस्ता बेथितिलाई अस्पतालले तोडेको छ । औषधि बोलपत्रमा न्यूनतम मूल्य निर्धारण गर्दै त्यही मूल्यमा वर्ष दिनसम्म औषधि ल्याउनुपर्ने गरी कडाइ गरिएकाले सप्लायर्सहरूले मेसु डा. गौतम आएको छ महिनामै सरुवा गर्न खोजेकामा नसकेको व्यवस्थान समितिको भनाइ छ ।

औषधि सप्लायर्स, केही निजी अस्पतालका सञ्चालक, अस्पतालबाहिरका केही औषधि व्यवसायी र ल्याब सञ्चालकले उहाँको सरुवा गर्न धम्की दिँदै शक्ति केन्द्र धाउन थालेका हुन् । सरुवा गराउने अभियानमा लागेका टोली भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालदेखि प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईसम्मलाई गुनासो गर्न पुगेका थिए । 

जिसस प्रमुख गेलालले भन्नुभयो, ‘अस्पतालले बिरामीलाई सबै सेवा भित्रबाटै दिन थालेको र बिरामी बाहिर पठाउने चिकित्सकलाई समेत कारबाही गरिएकाले हाम्रो व्यवसायमा समस्या पर्‍याे भन्दै केही व्यक्ति मेसु डा. गौतमको सरुवा गर्न आएका थिए तर मैले अस्पताल अहिले एकदम राम्रो भएको छ, यस्ता गलत कुरा लिएर नआउनुस् भनेर पठाइदिएँ ।’

मेसु डा. गौतमले औषधि सप्लायर्सदेखि केही व्यक्तिले फोनबाट केन्द्रदेखि प्रदेश सरकारसम्म पुगेर अब सरुवा गराइ छाड्छौँ भनेर धम्की दिएको बताउनुभयो । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया