अझै उठ्न सकेन काठमाण्डाैका मुख्य मुख्य चोककाे फोहाेर

 भदौ १९, २०७८ शनिबार १६:७:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाण्डाैका मुख्य मुख्य चोककाे फोहोर अझै उठ्न सकेका छैन ।  काठमाण्डौ अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहाेर गएकाे बुधवारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहाेरको डङ्गुर अझै उस्तै नै छ । 

नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाण्डाै उपत्यकाको १८ स्थानीय तहको फोहर गएकाे साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । 

लामो समयदेखि फोहाेर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाण्डाै महानगरपालिकाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहको छ । ‘धेरै दिनको सङ्कलित फोहर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ’, प्रमुख श्रेष्ठले भन्नुभयो । अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिक टन फोहर जम्मा भएको बताइएको छ ।  

गएकाे मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहाेर उठाउने निर्णय गरेको थियो । मङ्गलवारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि आजदेखि फोहर व्यवस्थापन हुन थालेको हो । 

कामपाले गएकाे साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरबासीलाई घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको १८ हप्तापछि फोहर व्यवस्थापनको काम भएको हो । सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहाेर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ । 

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र पाँच सय मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहर सिसडोल लाने गरिएको छ ।  
    
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । सोह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । काठमाण्डाै उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया