राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म

 भदौ २३, २०७८ बुधबार १७:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने भएको छ । आज बुधवार काठमाण्डाैमा केन्द्रीय तथ्याङ्क विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगित गरिएको राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने भएको बताएको हो ।

अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रूपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना फेरि सञ्चालन गर्ने निर्णय गरेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार आउँदाे जनगणना १२ औँ शृङ्खलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, आठ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा तीन करोड जनसङ्ख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेरगणना गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने बताउनुभयो । गणकको छनोट गरे उनीहरूलाई दुई खेप नै कोरोना भाइरसविरुद्धकाे खाेप लगाउन सकिने भन्दै उहाँले गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने पनि बताउनुभयो । सचिव भण्डारीले पूर्व निर्धारित समयमा जनगणना हुन नसक्दा खर्च पनि बढिरहेको बताउनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भदाै २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । पूर्व निर्धारित कार्यक्रमअनुसार जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । विसं १९६८ मा श्री ३ चन्द्रशम्शेर जबराको पालादेखि सुरु गरिएको राष्ट्रिय जनगणना प्रत्येक १०/१० वर्षमा गरिन्छ । यो जनगणना देश सङ्घीयतामा प्रवेश गरेपछिको पहिलो जनगणनासमेत हो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया