दैलेखमा ग्यास र पेट्रोल खानी रहेकाे चिनियाँ अध्ययनकाे निष्कर्ष

 भदौ २४, २०७८ बिहीबार १३:१७:४९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दैलेख – दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ । 

चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताउनुभयो । सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो, उहाँले भन्नुभयो, अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुनेछ । 

कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन । अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उहाँको भनाइ छ । चार वटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ, उहाँले भन्नुभयो, टोली आउनासाथ धमाधम काम सुरु हुन्छ ।

दुवै देशका सरकारबीच जीटूजी सम्झौताअनुसार काम सुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ । विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला, भूगर्भविद् डा. रजौरेले भन्नुभयो, “कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ । 

दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ । 

झन्डै १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुन सक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण सुरु गरेका थिए । विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तथ्याङ्कमा उल्लेख छ ।

चार हजार मिटर ड्रिलिङ हुने

अन्वेषणको अन्तिम चरणमा जमिनमुनि चार हजार पाँच सय मिटर गहिरो ड्रिलिङ गरिने भएको छ । विभागले दिएको जानकारीअनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्यास वा पेट्रोल छ भनेर थाहा हुनेछ । यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न मिल्दैन खानी तथा भूगर्भ विभागले जनाएको छ । अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भूभागभित्र ग्यास वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो ।

नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो । त्यहीअनुसार विभिन्न चरणमा काम सुरु भइरहेका छन् ।

कोरोनाका कारण रोकियो अन्तिम सर्वेक्षण

विभागका अनुसार काम सुरु भइरहेकै बेलामा कोरोना सङ्क्रमणको दर बढेपछि केही समस्या भएको छ । अन्तिम सर्वेक्षणका लागि प्राविधिक टोली र आवश्यक उपकरण ल्याउन समयमै सकिएको भए अहिलेसम्म अन्तिम नतिजा पनि आइसक्थ्यो । कोभिड सङ्क्रमणकै कारण झन्डै १८ महिना अन्वेषणको काममा ढिलाइ भएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया