चोर दोष नलागोस् भन्ने कामनासाथ दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

 भदौ २५, २०७८ शुक्रबार ८:४४:२२ | रासस
unn.prixa.net

काठमाण्डाै – गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् ।

भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्बिरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन् । गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने भएकाले यस दिनलाई दशैँको प्रारम्भ पर्वका रूपमा लिइन्छ । यस दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाइन्छ । आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलनसमेत छ ।

यस दिन राति नेवार समुदायले कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गर्ने गर्छन् । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्वीर राखेर, नैवेद्य, पञ्चपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रा, सुन्तला, काँचो भिजाएको केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्लासमेत आठ प्रकारका भुटेका गेडागुडी चढाइन्छ । साथै पूजामा घ्यूमा भुटेको आरुको बियाँ, दुबो, कालो तिलको लड्डु, मुला खाइसी (भोगटेजस्तो एक प्रकारको फल) चढाउँछन् । ​

चथा गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घरपरिवारका सबै सदस्य बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबै बसेर चथा गणेशलाई चढाएको पञ्चपकाव, काँक्रा, फलफूल र भुटेका गेडागुडी प्रसादका रूपमा खाने चलन छ । प्रसाद खाइसकेपछि दहीको सगुनसहित भोज खाइन्छ ।

यस दिन चथा गणेशको पूजा गरेमा खुशी मिल्ने, जीवनमा चिताएको मनोकांक्षा पूरा हुनाका साथै दशैँ राम्रोसँग मनाउन पाउने लोक मान्यता छ । चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ । नेवार समुदायमा चथाको दिन गणेश र चन्द्रमाको पूजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन छ ।

राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देशसमेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । पौराणिक लोककथनअनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस् भनेर श्राप दिएछन् । 

गणेशको श्रापको प्रभावले त्यस दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो । त्यसपछि देवीदेवतासमेतले चन्द्रमाको मुख हेर्न छाडिदिए । यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगे । त्यसपछि चन्द्रमा महादेवको शरणमा गए र उनै महादेवको सहयोगले गणेशलाई दुबो, लड्डु र मुला चढाइ क्षमायाचना गरे । चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भदाै शुक्ल चौथीको एक दिनबाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए ।

साथै गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे त्याे दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदानसमेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ । आजै इन्द्रजात्राको लागि भक्तपुरबाट काठमाण्डाैको वसन्तपुरसम्म लिङ्गो लैजाने परम्परासमेत छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया