सत्ता गठबन्धन बैठक बेलुकी ६ बजे फेरि बस्ने

 भदौ २५, २०७८ शुक्रबार १४:२१:१२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्ग्याउनेबारेमा छलफल गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार भएको सत्ता गठबन्धन शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको नाम छिटो दिन गठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको थियो । 

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गर्नुभएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पैडेलले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, 'बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बढी समय छलफल भयो, साथै गठबन्धनलाई अझै परिष्कृत गरेर लैजाने तथा संसदमा विधेयक टेबुल गर्नेबारे पनि कुराकानी भएको छ । साँझ ६ बजे बैठक पुनः बस्ने गरी सकिएको छ ।'

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन आ–आफ्नो पार्टीमा सल्लाह गरेका मन्त्रीहरूको नाम चाँडो टुङ्ग्याउन आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो । 

नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले गएकाे असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो । त्यसयता झन्डै दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । 

अहिले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्र हुनुहुन्छ । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ । हिजाे बिहीवार पनि मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक परिस्थितिबारे गठबन्धनका नेताबीच छलफल भएको थियो । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया