पालिकाबाटै कन्सुलर सेवा विस्तार गरिने

 भदौ २५, २०७८ शुक्रबार २०:३४:५६ | रासस
unn.prixa.net

काठमाण्डौ – परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन पालिकासँग सहकार्य गर्ने जनाएको छ । 

सेवा प्रवाहलाई बढी प्रभावकारी तुल्याउन विभागले पालिकासँग सहकार्य गर्ने जनाएको हो । काठमाण्डाै जिल्लाका महानगरपालिका तथा नगरपालिकाका मेयर, उपमेयर एवम् कार्यकारी निर्देशकका लागि विभागले आज आयोजना गरेको ‘अभिमुखीकरण कार्यक्रम’ मा यस्ताे बताएकाे हाे । विदेशमा रहेका नेपालीलाई परेको समस्या समाधान गर्न कागजपत्र जुटाउन सहजताका लागि हरेक स्थानीयवासीलाई अनलाइन प्रणालीमा जोड्ने तयारी भइरहेको कार्यक्रममा जानकारी दिइयो । 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले विभिन्न प्रयोजनमा विदेश जाने क्रम बढेसँगै कागजातका कारण विभिन्न समस्या बढ्दै गएको अवस्थामा पालिकाबाट नै कागजातहरूको प्रमाणीकरणको सुनिश्चित गर्न सकिएमा सर्वसाधारणलाई ठूलो राहत पुग्ने बताउनुभयो । 

विभागका महानिर्देशक धनबहादुर वलीले सङ्घीयताको मर्म एवम् भावनाअनुसार नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएका र विदेशमा जाने नेपालीलाई विभिन्न प्रयोजनका लागि प्रमाणित गर्नुपर्ने आवश्यक कागजातको अनलाइनको माध्यमबाट प्रमाणीकरणमा जोड दिइएको बताउनुभयो । 

कोरोना र बजेटलगायत कारण एकै साथ सात सय ५३ पालिकामा पुग्न कठिन भएकाले सबैभन्दा धेरै विदेश जाने जिल्ला र पालिका पहिचान गरिएका पालिकासँग सहकार्य गर्ने र आउँदाे दुई वर्षभित्र सबै तहमा पुग्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले डिजिटल नेपाल फ्रेमवर्कभित्र रहेर व्यक्तिगत घटनाका कागजातहरू अनलाइन विधिमार्फत दर्तादेखि प्रामाणीकरणका कार्यहरू सम्पादन गर्न सकिएमा सेवाग्राहीहरूलाई छिटोछरितो सेवा प्रवाह गर्न र झुट्टा विवरण पेस गर्ने प्रवृत्तिलाई अन्त्य गर्न सकिने बताउनुभयो । 

काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डाै उपत्यकामा देशका विभिन्न जिल्लाबाट बसाइँ सरेर आउनेको सङ्ख्या धेरै रहेकाले उनीहरूका मागअनुसार कतिपय कागजात तयार र प्रमाणीकरण गर्न कानुनी र व्यावहारिक कठिनाइ भएको बताउनुभयो । 

कन्सुलर सेवा विभागका निर्देशक प्रकाश अधिकारीले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसायका क्रममा विदेशमा गइ अलपत्र परेका, उपचार गर्न आवश्यक भएका, शव ल्याउनुपर्ने अवस्थाका, क्षतिपूर्ति, मुद्दा लड्ने काम र खोजतलासलगायत कन्सुलरसम्बन्धी सम्पूर्ण काम ठिक ढङ्गले अघि बढाउन पालिकासँग सहकार्य गर्नु जरुरी भएको उल्लेख गर्दै यसका लागि यस किसिमको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको र यसलाई देशका अन्य पालिकामा पनि सञ्चालन गरिने बताउनुभयो । 

विदेशमा स्थानीय कानुनअनुसार आवश्यक कागजात तयार गरी प्रस्तुत गर्नुपर्ने भएकाले तयार गर्ने क्रममा कमजोरी र त्रुटि नहोस् भन्नका लागि सम्पर्क/सञ्चार स्थापित गरी सहकार्यको खाँचोमा कार्यक्रमका सहभागीहरूले जोड दिए ।   

पालिकाले विवाह, जन्मदर्ता, नाता प्रमाणितलगायत सबै कागजात जारी गर्ने र कन्सुलर विभागका कुनै पनि शाखा, इकाइ पालिकामा नहुँदा केन्द्रमा नै धाउनुपर्ने र अनेक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको छ ।  

पालिकासँगको सहकार्यमा विदेशमा लाखौँको सङ्ख्यामा अध्ययन, रोजगारीलगायत विभिन्न पेसा व्यवसायमा रहेकालाई कुनै समस्या परेका खण्डमा रहे बसेकै ठाउँबाट निवेदन दिन सकिने सुविधासहित विभागले कार्यारम्भ गरिसकेको छ । 

विदेशमा परिवारलाई झिकाउन परेमा, अलपत्र परेमा, घाइते भएमा, अरू कुनै समस्या परेमा उद्धार गर्न, खोजतलास, उपचार र हकहित रक्षाका लागि मात्र होइन, विदेशमा रोजगारीमा जाँदा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने कागजात पनि विभागले प्रमाणित गर्दै आएको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया