पाल्पामा आलोपालो प्रणालीबाट कक्षा सञ्चालन

 भदौ २६, २०७८ शनिबार १५:२५:१२ | रासस
unn.prixa.net

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिकाले भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनमा ल्याइएको हाे । 

गाउँपालिकाले कक्षा वारअनुसार​ जाेर-विजाेर प्रणालीमा सञ्चालन गर्ने गरेको पालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएसँगै हप्ताअघि गाउँपालिकाभित्रका सबै विद्यालय नियमित रुपमा खोली वारअनुसार कक्षा सञ्चालन गर्न थालिएको हो ।

पाल्पाको माथागढी गाउँपालिकाले भदौ २८ गतेबाट भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी कारण विद्यालय बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गरिए पनि समस्या देखिएको थियो । 

गाउँपालिकाभित्र पाँचजना मात्र कोरोनाको सक्रिय सङ्क्रमित रहेपछि गाउँपालिकाले स्मार्ट लकडाउनअनुसार नै विद्यालय सञ्चालन गर्न लागिएको  गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । 

उहाँका अनुसार डीसीसीएमसीको निर्णय र गाउँ शिक्षा समितिको बैठकको निर्णयबमोजिम स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनको कार्यविधि पूर्ण रुपमा पालना गर्ने गरी विद्यालय खोलिने भएका छन् । 

कोरोना भाइस सङ्क्रमण देखिएको अवस्थामा शिक्षक, कर्मचारी र विद्यार्थी विद्यालयमा उपस्थिति नहुने र स्वास्थ्य संस्थाहरुमा सम्पर्कमा रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

पाल्पाको रम्भा, रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छ । रम्भा गाउँपालिकाले आइतबारदेखि नै कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको हो । 

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार कम विद्यार्थीहरु हुने विद्यालयमा आइतबारदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन्छ । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयमा आलोपालोमा कक्षा सञ्चालन गर्ने तयारी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

कक्षा सञ्चालन हुनुभन्दा अगाडि स्वास्थ्य मापदण्डको पालना गराउन शिक्षकबाट कार्यान्वयन गराउने अध्यक्षको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामा कोरोना सङ्क्रमणको दर न्यून भएकाले स्थानीय तहले स्वास्थ्य मापदण्डको पालना गरी खोल्ने सक्ने निर्णय गरेसँगै विद्यालय खोलिन थालेको हो । 

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वास्थ्य मापदण्डको पूर्ण सतर्कता र सजगताका अवलम्बन गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने बताउनुभयो । शिक्षक तथा विद्यार्थीको भौतिक उपस्थितिमा अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना गरी नियमित रुपमा कक्षा सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

रामपुर–१० स्थित जनकल्याण उच्च माविका शिक्षक दामोदर तिमिल्सिनाले पठनपाठन सञ्चालनका लागि नगरपालिकाबाट निर्देशन आएको छ भन्नुभयो । स्वास्थ्य मापदण्डको पालना गरी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । 

यसअघि बिहान, दिउँसो र साँझमा पालैपालो पढाउने गरिएमा अबदेखि नियमितरुपमा पठनपाठन गरिने तिमिल्सिनाले जानकारी दिनुभयो ।   जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय खोल्ने तयारी अन्तिम चरण पुगेका छन् । 

जिल्लाका अधिकांश सरकारी विद्यालय खोल्ने तयारी भइरहे पनि संस्थागत विद्यालयले अनलाइन माध्यमबाट परीक्षासमेत सकेका छन् ।

परीक्षा सम्पन्न गरी हालसम्मको महिनावारी शिक्षण शुल्कसमेत उठाएको अभिभावकको गुनासो छ । विद्यालय खोलिन थालेपछि विद्यार्थीमा उत्साहसँगै कोरोना सङ्क्रमणको त्रासले निराशा पनि थोपारिएको छ । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया